कीर्तिपुरमा क्रिकेट प्रेम


काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानमा ठाउँ नपाएकाहरू रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् । उनीहरुले टिम नेपाललाई हौसला प्रदान गर्न हातमा झन्डा, फेस पेन्टिङ र प्लेकार्डहरू समेत बोकेर खेलको मज्जा लिइरहेका छन् ।


नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।






























