नवनिर्वाचित राष्ट्रपति पौडेलसँग अंकमाल

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका रामचन्द्र पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरेको मतपरिणाम अनुसार पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए । पौडेल राष्ट्रपतिमा निर्वाचित घोषणा गर्न र प्रमाणपत्र वितरणका लागि आयोजित समारोहमा शीर्ष नेताहरुबीच मञ्चमै अंकमाल गर्दै बधाई साटासाटको दृश्य देखिए । त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत थिए ।


प्रकाशित : फाल्गुन २५, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्