तानसेनको सडकमा थरिथरि खाना

मगरी, नेवारी र मुस्लिमका खानाको स्वाद
माधव अर्याल

पाल्पा — मगरी खाना बटुक र मेवाको अचार, पाल्पाली चुकाउनी, हाँसको छोयलाको स्वादमा रमाउने धेरै थिए । नेवारको योमरी, ओमरी, चटामरी लगायतको स्वाद लिनेको पनि कमी थिएन । मुस्लिम समुदायको सेवई, हैदरावादी बिरहानी मात्र होइन क्षेत्री बाहुनका स्टलमा खीर, दुध मलाय, जेरी पनि लोकप्रिय नै थिए । 

मगरी परिकार बटुकका स्टलले पकाउन र तयार गरेर पुर्‍याउनै हम्मे भयो । किन भने यहाँ प्रत्यक्ष पकाउने र तयार गर्ने गरिएको थियो । ‘मास, सिल्टुङको बटुक निकै मन पर्यो,’ तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले भने, ‘हामीले अन्यत्र खाने केराउको हुन्थ्यो, यो निकै मिठो हुनेरहेछ ।’ यति मात्र होइन, नेवारी बारा, चटामरी, न्याखुना पनि लोकप्रिय नै बनेको उपप्रमुख प्रतिक्षा सिंजालीले बताइन् । मगरले मात्र होइन ब्राह्मण क्षेत्री पनि मगरी परिकार बटुक बनाउन हतार गर्दै थिए ।

सधै खान पाइने मःम, हाँस, बफ र चिकल छोयलाको स्वाद लिनेको पनि भीड नै थियो । मुस्लिम खाना सेवई होस् वा नेवारकै तखला चाख्नेको पनि भीड नै लागेको आयोजक मखनटोल टोल विकास संस्थाकी अध्यक्ष प्रमिला कार्कीले बताइन् । तानसेन नगरपालिका–४, मखनटोलामा शुक्रबार आयोजना गरेको सडक खाना महोत्सवले आन्तरिक तथा बाहृय पर्यटकको ध्यान खिचेको छ । 

‘हामीले सेलरोटी र मगर परिकार बटुक बनाएका थियौं,’ स्टल सहभागी तारा श्रीस मगरले भनिन्, ‘तर बनाएका सामाग्री केही फाल्नु परेन । धेरै भीड लाग्यो ।’ सडकमै खाँऔं, सडकमै रमाऔं भन्ने नाराका साथ मखनटोल टोल विकास संस्थाले राखेको ‘पाँचौ सडक खाना महोत्सव’ ले स्थानीय र बाहृय पर्यटकलाई फरक स्वाद दिएको हो । आन्तरिक पर्यटकसमेत चहलपहल हुन नसकेको अवस्थामा यस महोत्सवले तानसेन बजारक्षेत्रको वातावरणलाई नै तताएको अनुभव पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । तानसेनबासीले सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर सडक खाना महोत्सव सफल पारेको उनले बताए । ‘धेरै पछि राम्रो व्यापार भयो,’ सुपर टप मिष्ठान्न भण्डारका माधव कँडेलले भने, ‘लगेको सामान फिर्ता गर्नु परेन ।’ उनले मासको पिठोबाट जेरी, खिर, कफी खुवाए । खाना महोत्सवमा तानसेनबासीको सहभागीता पनि राम्रो भयो । 

झण्डै १५ हजारले महोत्सव एकै दिनमा अवलोकन गरेको अनुमान आयोजकको छ । जिल्ला भित्र तथा बाहिरका पर्यटकले सडकमै नाचगान सहित खाना र खाजाका परिकार खाए । आन्तरिक पर्यटकलाई आकर्षण गर्न महोत्सव आयोजना गरेको आयोजकले बताए । स्थानीय उत्पादन प्रवर्द्धन, लोप हुन लागेको संस्कृति तथा परिकारलाई प्रोत्साहन गर्न सडक खाना महोत्सव आयोजना गरेको हो । ‘सडक खाना महोत्सवले महोत्सवले हौसला दिएको छ,’ आयोजक संस्थाकी ज्योति राजभण्डारीले भनिन्, ‘आगामी दिनमा गर्न हामीलाई प्रोत्साहन मिलेको छ ।’ नेवारी, मगरी पोसाकमा सजिएका महिलाले बनाएको खानामा अत्यधिक भीड लाग्यो । टक्सारटोल र भीमसेनटोलका नेवार महिलाको योमरीले बजार लियो । ‘पुर्‍याउनै नसकिने गरी भीड लाग्यो,’ टक्सारका वडाध्यक्षसमेत रहेका बाबुरत्न शाक्यले भने, ‘सडकमा खान मन पराउने रहेछन् भन्ने प्रमाणित भयो ।’ पोखरा, भैरहवा, बुटवलमा सडक खाना महोत्सवमा अत्यधिक भीड भएको थाहा पाएका थिए । तर यसपटक आफ्नै आँखाले यति ठूलो भीड देखेको उनले सुनाए । 

‘जिल्लाका खानाका परिकारहरुलाई ब्राण्डिङ गर्न खोजिएको जस्तो लाग्यो,’ तानसेन –११, का वडाध्यक्ष यादवसिंह कार्कीले भने, ‘जे होस् सोंचे भन्दा धेरै राम्रो र सफलता पाए जस्तो लाग्यो ।’ विभिन्न जातजातिका खानाका परिकार एकै ठाउँमा चाख्न र घरमा लैजान पाएको उनले बताए । मुस्लिम खाना शाही विरयाली र सेवई बिक्री गर्दै गरेका महम्मद सफर मिंयाले भने, ‘यसरी बिक्री होला भन्ने थिएन । तर राम्रो व्यापार गर्न सफल भइयो ।’ महिलाकै अगुवाइमा सडक खाना महोत्सव भएको हो । केही दिन अघिदेखिको प्रचारले पनि सफलता पाइएको सल्लाहकार तथा वडाध्यक्ष हेमन्तराज शाक्यले बताए । ‘सकेसम्म प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘यस वर्ष राम्रो भयो । आगामी दिनमा पनि यस्तै होला भन्ने अनुमान गर्न सकिन्छ ।’ आन्तरिक तथा बाहृय पर्यटकलाई बढावा दिने उद्देश्यले महोत्सव गरेको उनले बताए । तानसेन हुलाकचोक देखि सित्तलपाटी चोकसम्म खुला सडकमा तानसेनका विभिन्न टोलमा बस्ने महिला तथा पुरुषले आफ्नो जातजातिको पोसाकमा सजिएर बिक्री गर्दा छुट्टै आनन्द भएको तानसेन प्रभासका प्रदीप खनालले बताए । 

कर्मचारी, व्यवसायी, व्यापारी, विद्यार्थीहरु सडक महोत्सवमा रमाए । सडक खाना महोत्सवमा नेवारी, मगरी, मुस्लिम, गुरुङ, कुमाल, बाहुन, क्षेत्री लगायत यहाँ बसोबास गर्ने सबै जातजातिले स्टल राखेका थिए । ‘परम्परागत खानाका परिकारको साथै लोप हुँदै गएको जातजातिहरुको कला सँस्कृति प्रस्तुति रह्यो,’ तानसेन–४, की कल्पना भट्टराईले भनिन्, ‘सबैको हौसलाकै कारण महोत्सव आयोजना गरिएको हो ।’ विदेशी परिकारलाई भन्दा स्थानीय खाना स्टलमा राखिएको उनले बताइन् । आन्तरिक तथा बाहृय पर्यटकलाई बेग्लै स्वाद चखाउने योजना अनुसारको खानाका परिकार राखिएको हो । 


प्रकाशित : माघ २१, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

किसानका माग सम्बोधनका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन् ।

शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् ।

चिवतनमै रहनुभएका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन् ।

कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ ।

प्रकाशित : माघ २१, २०७९ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×