३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साँख दह छेउमा पापिनी विवाह उत्सव

महेश केसी

रुकुम पश्चिम — मध्य माघको राति मुसीकोट-७ साँख गाउँको दह छेउमा पञ्चेबाजा गुन्जियो । सिंगो गाउँ एउटा परम्परागत विवाह उत्सवमा रम्यो । साँख तली गाउँका केटा पक्षले अघिल्लो दिन नै माथीगाउँ पुगेर केटी माग्ने विधि सकेपछि माघ १५ गते राति ८ बजेतिर नाच्दै, रमाउँदै, दुलाहालाई काधमा राखी १५ जना पापिनी कन्या र जन्तीका साथमा दुलाहा पक्ष माथिल्लो गाउँको दहछेउ अर्थात् दुलहीको माइतीतर्फ लम्किए । 

यता दलहीको घरमा दुलाहको व्यग्र प्रतीक्षा थियो । जब जन्ती आए, माइतीले चिराग बालेर उनीहरूको स्वागत गरे । दुलाहा र दुलहीको भेट भयो । सँगै राखेर टिकाटालो भयो । अनि भयो नाचगान पनि । केहीबेरमा दुलही लिएर जन्तीहरू तल्लो गाउँको दहछेउ अर्थात् दुलाहाको घरतर्फ फर्किए । उस्तै बाजाको ताल, उमंग र रमझमसाथ जन्तीको लहरोमा केटी पक्षका अरु १५ जना ‘पापिनी कन्या’ पनि थपिए । 

यता दुलहीको प्रतीक्षा थियो । स्वागतका लागि तली गाउँबासी तम्तयार भएर बसेका थिए । जब जन्ती घर फर्किए उनीहरूको भव्य स्वागत भयो । दुलही भित्रिइन् । यहाँ विवाहको विधि पूरा गरियो । टिकाटालो भयो । नयाँ बुहारीलाई मायाले जिस्क्याइरहेका केटा पक्ष मख्ख देखिए । विवाहको खुसीयालीका नाचगान भयो । केटाको घरमा थप रमझम छायो । यसरी एउटा काल्पनिक र परम्परागत विवाह सम्पन्न भयो ।

परापूर्व कालदेखि यही शैलीमा लाग्दै आएको साँखको पापिनी मेला हरेक वर्ष माघ १५ मा यसैगरी आयोजना हुन्छ । यति नगरे पापिनी नामकी रक्षसनीले गाउँ र गाउँलेको हानी गर्ने भएकाले उहिल्यैदेखि यो चलन चलिआएको बताउछन् स्थानीय पूर्णबहादुर बुढा । साँखका माथी गाउँ र तली गाउँका १५/१५ जना कन्यालाई पापिनीका रुपमा सिंगारेर मध्य माघको रातमा यसरी विवाह गरेपछि पापिनी नामकी राक्षसनीले दुःख नदिने यहाँको जनविश्वास रहेको बुढाको भनाइ छ । 

रातो चोली र सेतो पटुकीका गुन्यूको पोसाकमा सजिएका र निधारमा दुई रंगको बांगो टिका लगाएका कन्याहरूलाई पापिनी भनिने स्थानीय हिमबहादुर पाण्डेको भनाइ छ । हरेक वर्ष पालोसार तली गाउँ र माथी गाउँले दुलाहा-दुलही बनाएर यसरी विवाह गर्ने परम्पराबारे बताउँदै पाण्डेले भने, ‘दुलाहा केटी र दुलही पनि केटी नै बनाएर हामी काल्पनिक विवाह गरिदिन्छौं । यो परम्परा अहिले साँखको चिनारी बनेको छ । हाम्रो एउटा अमूल्य संस्कृति बनेको छ ।’


प्रकाशित : माघ १७, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्