अमेरिकी उपमन्त्री नुल्यान्डको पाटन घुमफिर [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले पाटन दरबार स्क्वायर अवलोकन गरेकी छन् । उप विदेशमन्त्री नुल्यान्डसहित अमेरिकी राजदूत र अन्य अधिकारीहरूले सोमबार दिउँसो प्राचीन सहर पाटन पुगेर मल्लकालीन कला संस्कृतिको अवलोकन गरे ।

उपत्यकाको सबैभन्दा पुरानो सहर पाटनमा रहेका १७ औं शताब्दिदेखिका सम्पदा अवलोकन गर्न उपमन्त्री नुल्यान्डसँगै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि पुगेका थिए । आइतबार काठमाडौं आइपुगेकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गरेकी छन् ।

उनले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गरिसकेकी छन् । नुल्यान्ड आफ्नो भ्रमण सकेर सोमबार नै फर्किने छिन् ।

प्रकाशित : माघ १६, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

दुई अध्यक्षको सहमतिअनुसार राष्ट्रपति एमालेबाटै : उपमहासचिव गुरुङ

आश गुरुङ

लमजुङ — नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने दाबी गरेका छन् ।

दाहाल प्रधानमन्त्री हुनेबेला दुई अध्यक्षबीच राष्ट्रपति एमालेकै बनाउने सहमति भएको उनले बताए । लमजुङको सुन्दरबजारमा सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताए ।

‘कांग्रेसले जाल हान्ने काम गरेको छ । ढडिया थाप्ने काम गरेको छ । कतै ढडियामा माछा परिहाल्छ कि भनेर । त्यो सम्भावना छैन‚’ उनले भने । राष्ट्रपतिको विषयलाई लिएर राजनीति तरंगित भएको र आफूलाई समेत के हुन्छ ? भनेर नेता/कार्यकर्ताबाट बारम्बार फोन आइरहेको उनले बताए । उनले दुई अध्यक्षको सहमतिअनुसार राष्ट्रपति एमालेबाट हुने जिकीर गरे । ‘प्रधानमन्त्री आलोपालो हुन्छ । सभामुख आलोपालो हुन्छ । राष्ट्रपति पूरै समय एमालेकै हुने हो । दुई अध्यक्षबीचको सहमति त्यहीँ हो‚’ उनले भने ।

उनले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको दाबी गरे । ‘नेपालको राजनीतिक उथलपुथल देखेर दिल्ली चकित पर्‍यो । वासिङ्टन चकित पर्‍यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठाउँमा कसरी प्रचण्ड प्रधानमन्त्री भए भनेर‚’ उनले भने, ‘त्यसपछि घेराबन्दी, अविश्वास र झगडा सुरु पार्न खोजिँदै छ । जाल फ्याँक्न खोजेको छ । कांग्रेसको प्रयास विफल हुन्छ’ उनले भने ।

उनले पुँजीवादको नेतालाई प्रधानमन्त्री बनाएर समाजवादको आधार तय गर्न नसकिने बताए । उनले समाजवादको आधार तय गर्ने बाटोमा आउन एकीकृत समाजवादीलाई आग्रह गरे । एकीकृत समाजवादीले ‘पोलिटिकल डाइनमिक्स’ नबुझेको उनले टिप्पणी गरे । ‘रातारात अग्राख पलाइसक्यो, उसलाई थाह छैन । उहाँहरू आउनुहुन्छ भने हामी स्वागत गर्छौं‚’ उनले भने । एक डेढ महिनाभित्र एकीकृत समाजवादीका आधाआधी हिस्सा एमालेमा फर्किने दाबी गरे ।

उनले नेकपा एमाले कम्युनिस्टको मूल पार्टी भएको र एमालेको नीतिभन्दा अरुको फरक नभएकाले पनि एमालेसँगको मोर्चाबन्दीमा अघि बढ्नुको विकल्प नभएको बताए । उनले अहिले केन्द्र र ७ वटै प्रदेशमा कम्युनिस्टको सरकार बनेको भन्दै यसलाई ठूलो उपलब्धी मान्नुपर्ने बताए ।

सुन्दरबजार नगरपालिका २ हाँडेटारमा जन्मिएका तिलकराज पाण्डेलाई तत्कालीन विद्रोही माओवादीले २०६१ साल माघ १६ गते गोली हानी हत्या गरेका थिए । २०२१ भदौ २९ गते जन्मिएका उनी २०४९ मा तत्कालीन परेवाडाँडा गाविसका अध्यक्ष, २०५४ मा निर्विरोध गाविस अध्यक्ष, २०५४ मा तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, २०५६ मा तत्कालीन नेकपा एमाले सचिवालय सदस्य एवं क्षेत्र नं. २ को इन्चार्ज थिए ।

प्रकाशित : माघ १६, २०७९ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×