टिलिक्क रारा [तस्बिरहरु]

राजबहादुर शाही

मुगु — भारी हिमपातले मुगुको रारा चाँदीजस्तै टिलिक्क टल्किएको छ । सोमबारदेखि बुधबारसम्म रारा क्षेत्रमा बाक्लो हिउँ परेको र बिहीबारदेखि घाम लागेपछि रारा चाँदीजस्तै चम्किलो देखिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । समुद्री सतहदेखि २९ सय २९ मिटर उचाईमा रहेको मुगुको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा मौसमअनुकूल विभिन्न रुप फेर्ने गरेको छ ।

हिउँ परेको बेला चाँदीजस्तै टल्किने, कुनै बेला खैरो, कुनै बेला निलो रंग फेर्ने गर्दा पर्यटक निकै रोमाञ्चित हुने गरेका छन् । बिहान र मध्याह्नको समय सूर्यका किरण हिउँ र तालपर्दा छिनछिनमा रुप फेर्दै टल्किन्छ । यो वर्षकै पहिलोपटक रारा हिउँ परेको हुँदा रुखदेखि जमिनसम्म कपास बिछ्याएजस्तै सेताम्य देखिएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले पर्यटकको निम्ति रारा असाध्यै आकर्षक देखिएको बताए । ताल वारिपारिबाट बगेर आउने मझौला खोला नालाहरु पनि हिउँले छोपिएका छन् । मुर्माटप चुचुमारे लेकबाट अवलोकन गर्दा रारा चाँदी घेराझैं देखिन्छ । हिउँदमा रारामा हिउँ पर्ने, चैत-वैशाखमा रारामा लालीगुराँस फूल फुल्ने, जेठ-असार रारा ताल वरिपरि थरिथरिका फूल फुल्छन् ।


प्रकाशित : माघ १२, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

दाहालद्वारा स्थायी कमिटीमा कांग्रेस छाडेर एमालेसँग मिल्नुको कारणबारे प्रतिवेदन पेस

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिबारे पार्टी स्थायी कमिटीमा प्रतिवेदन पेस गरेका छन् । बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् । 

आफ्नो नेतृत्वमा सरकार गठन, माओवादी र कांग्रेस गठबन्धन भत्किएर एमालेसँग सत्ता साझेदारी, कांग्रेसले विश्वासको मत दिएको र राष्ट्रपति निर्वाचनलगायत विषयमा दाहालले प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले कांग्रेससँगको गठबन्धन छाड्नुपरेको अवस्थालगायत विषयमा अध्यक्ष दाहालले स्थायी कमिटी बैठकमा आफ्ना धारणा राखेको पनि जानकारी दिए ।

‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छाडेर अर्को सहमति गर्न पुग्यौँ, त्यो स्थिति र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो,’ महराले भने ।

पार्टीको स्थायी कमिटी बैठकमा पार्टी एकता र संगठन विस्तारलगायत एजेन्डा पनि राखिएको छ । ती एजेन्डाबारे शुक्रबार पनि छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित : माघ १२, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×