पुतली बगैंचामा यसरी बन्दैछ संघीय संसद् भवन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ चैतसम्म निर्माण गरिसक्नुपर्ने समयसीमा पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।

संसद् भवनको निर्माणबारे संघीय संसद्का पदाधिकारी र सरकारका अधिकारीले बारम्बार अनुगमन गर्ने तथा कामको प्रगति विवरण लिने गरिरहेका छन् । यसैबीच राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सोमबार भवन निर्माणबारे अनुगमन गर्दै चासो राखेको थियो । समिति सभापति मायाप्रसाद शर्माले संसद् भवन निर्माणबारे जानकारी लिँदै त्यसमाथि समितिमा थप छलफल गरिने जानकारी दिएका छन् । संसद् भवनको निर्माण टुन्दी/सेक कम्पनीले गरिरहेको छ । उसले ठेक्का पाएको समय गत असोजमा सकिएको थियो । त्यतिबेला ६ महिना समय थपेर चैतसम्म निर्माण सक्ने सीमा पाएको छ ।

संघीय संसद्को नयाँ भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष, संसदीय समितिका सचिवालय, संसदीय दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना निर्माण भइरहेका छन् । अहिले सिंहदरबारमा दुई ठूला भवन र केही अस्थायी भवनमा संचालन भइरहेको सचिवालय र नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा तिरेर दुवै सदनका बैठक संचालन भइरहेका छन् । संघीय संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड ९ लाख रुपैयाँ भाडा तिरिरहेको छ ।

भवन निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले पाएको छ । भवनका मूख्य संरचना बनिसकेपछि इन्टेरियर डेकोरेसनलगायतका काम बाँकी रहनेछन् । त्यसका लागि थप १ वर्ष समय चाहिने ठेकेदार कम्पनीले विभागलाई जानकारी गराएको अधिकारीले बताएका छन् । सिंहदरबारको पुलती बगैंचामा १ सय ५१ रोपनी क्षेत्रफलमा १२ मूल भवनसहित संसद् भवन निर्माण भइरहेको हो ।


प्रकाशित : माघ ९, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

संसद्‌मा विश्वासको मत पाएपछि प्रधानमन्त्री दाहाल [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् ।

प्रकाशित : पुस २६, २०७९ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×