कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला कुर्मीका लागि न्याय : रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरिएको छ ।

बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ । अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ । २०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् । यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पनि गरे, तथापि पीडित पक्ष न्याय पाउनेमा आश्वस्त हुन सकेकै छैन । मुद्दा अदालतसम्म जान सकेकै छैन । उल्टो, मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

पुसको कठ्यांग्रिँदो चिसोमा न्यायका लागि गुहारेको २४ औं दिन भइसकेको छ । न्यायको लागि हरेक दिन धाउँदा उनीहरु गलिसकेका छन् तर आत्मबल भने गलेको देखिँदैन । एकल महिला निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत महिलाहरु जबसम्म न्याय सुनिश्चित हुँदैन तबसम्म पछि नहट्ने प्रणमा छन् । आन्दोलनलाई नेतत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खान न्यायका लागि जति भौतारिँदा पनि कसैले आवाज नसुनेकोमा गुनासो गर्छिन् ।

गृहमन्त्री रवि लामिछाने केही दिनअघि माइतीघरमै प्रदर्शनकारीहरूलाई भेट्न आए पनि आफ्ना कुरा मात्रै सुनाएर हिँडेको भन्दै प्रदर्शनकारीहरू थप असन्तुष्ट देखिएका छन् । लामिछाने गृहमन्त्री बन्नुअघिदेखि नै उनीहरू माइतीघरमा पुगेर धर्ना दिँदै आएका छन्। यसबीचमा प्रदर्शनकारीहरूले सडक नाटक, न्यायका लागि बहस लगायत गतिविधि गर्दै आएका छन् । कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन् ।


प्रकाशित : माघ ९, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्र बैंकको निर्णयमा सरकारले हस्तक्षेप गर्दैन : अर्थमन्त्री पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकलाई अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ’ उनले भने ‘राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।’ अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले अझै घट्नुपर्नेमा जोड दिए । ‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फितिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फितिलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो’ उनले भने ‘यो प्रक्रियाले अलिकति तीब्रता लियोस्, वाञ्छित सीमा भित्र कायम हुन सकोस् र मेरा प्रयासहरु त्यसमा केन्द्रित हुनेछन् ।’

अर्थमन्त्री पौडेलले लघु तथा घरेलु, साना र मझौला उद्योगको क्षेत्रलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या समाधानका लागि सार्थक उपाय खोज्नुपर्ने बताए । यो सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको उनको भनाइ छ ।


प्रकाशित : माघ ९, २०७९ १५:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×