कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाका मगर गाउँमा माघीको रौनक

माधव अर्याल

पाल्पा — झन्डै ५२ प्रतिशत मगर समुदाय रहेको पाल्पामा मगरी माघे संक्रान्ति मेलाको रौनक छाएको छ । मगर समुदायका बस्तीमा खाने, पिउने, पकाउने, रमाइलो गर्ने गर्छन् । तानसेन र ग्रामीण भेगमा नेपाल मगर संघ, कैलाश–बसन्त मगर समाज, गाउँटोलका मगर समूह, मगर महिला संघ लगायतले मगरी माघे मेला नै राखेका हुन् ।

तराईका थारु समुदाय र पहाडमा मगरहरुले माघी धुमधामका साथ मनाउने मगर समुदायकी अगुवा शान्ति झेंडी मगरले बताइन् । माघे संक्रान्तीको अवसरमा तानसेनमा मगरी खाजा एवम् बृहत सांस्कृतिक महोत्सवको आयोजना गरियो । माघ १ र २ गते पनि गाउँगाउँमा माघी मनाइरहेका छन् । गाउँटोलमा पनि खानपिन, रमाइलो, नाचगान गरेर माघी मनाइरहेको मगर महिला संघकी थानीसरा सोमैले बताइन् । मगर समुदायले बटुक, चुकाउनी, चोचे (बंगुर) कैलाश–वसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह–आयोजनामा शनिबारका दिन मगरी खाना महोत्सवको आयोजना गरेको उनले बताइन् ।

कैलाश–बसन्त समाज तानसेनका अध्यक्ष शेर बहादुर सोमैले तानसेन कैलाशनगर चोकमा मगरी खाजा एवं सांकृतिक कार्यक्रम गरिएको बताए । माघे संक्रान्तिको अवसरमा मगर समुदायको संस्कृति झल्काउने ठूलो नाच (नचरी), कौडा, ठाडो भाका झाम्रेसंगै कलाकेन्द्रको प्रस्तुति रहेको उनले बताए । मगर समुदायले माघीका अवसरमा ठूलो नाच, घाँटु, कौडा, झाम्रे, जिबै मामालगायत संस्कृति प्रदर्शन गर्ने गर्छन् । परम्परागत खानाहरू सेलरोटी, बटुक, सखरखण्ड, नाम्या, तरुल, चाकु, सुँगुरको मासुका विभिन्न परिकारहरू, कुखुराको मासु पनि महोत्सवमा राखिए नेपाल मगर संघ पाल्पाका पूर्वअध्यक्ष बलबहादुर रानाले बताए ।

आदिवासी जनजाती पत्रकार महासंघका देवबहादुर पचभैंयाले मगर समुदायले विशेष पर्वका रुपमा माघे संक्रान्तिलाई मनाउने भएकाले मगरको कला, संस्कृति जगेर्ना गर्न महोत्सव, मेला गर्नुपर्ने अवस्था आएको बताए । युवा पुस्तालाई मगरी संस्कृति, खानपिनलगायत विषयमा महोत्सवमा जानकारी दिइनेछ । यतिमात्र होइन, पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाका भीमबहादुर सारु केही दिनयता वन तरुल अर्थात् नाम्या खन्न व्यस्त भए । उनले दैनिक जंगल र बारीमा खनेका तरुल संकलन गरेर माघे संक्रान्तिका दिनमा पाहुना, चेलीबेटी बोलाएर खुवाए । खन्न निकै दुःख हुने भएपनि खान भने निकै मिठो हुने उनले बताए । ‘जंगलमा पुगेर वन तरुल खन्न निकै दुःख हुन्छ,’ उनले भने, ‘बजारमा बिक्री गर्न लग्यो भने त्यही पनि महङगो भयो भन्छन् ।’

तिनाउ गाउँपालिका–५, कोलडाँडाडाका टेकन थापा पनि वन तरुल खनेर माघी मनाउँदै छन् । उनले घरमा खान मात्र नभई तानसेन र बुटवल बजारमा बिक्री पनि गर्छन् । वन तरुल राम्रो भाउमा बिक्री हुने उनले बताए । माघे संक्रान्तिमा घरमा आउने पाहुनालाई पनि खुवाएको उनले बताए । यसका लागि उनको तयारी चार दिन अघिदेखि नै थियो । धेरै भएको वन तरुल बजारमा पठाउने उनको बर्सेनि यही सिजन हो । ‘माघे संक्रान्तिको एक साताअघिदेखि नै वन तरुल खन्ने गरिन्छ,’ उनले भने, ‘माघे संक्रान्ति मनाउने खर्च उठाउन पनि सहज नै हुन्छ ।’

कोलडाँडा गाउँकै तारादेवी घर्ति पनि परिवार र छिमेकीसँगै वन तरुल, बारीका रातो तरुलका साथै सखरखण्ड खन्न व्यस्त भए । घरमा पाहुनालाई खुवाएर बढी भएको तरुल, सखरखण्ड बजार पठाएको उनले बताइन् । ‘घरमा खाने, रमाउने मात्र होइन यसबेलाको आम्दानीको स्रोत पनि हो,’ उनले भनिन्, ‘गाउँका धेरैजसो यही काममा व्यस्त हुनुपर्ने बेला हो । माघे संक्रान्ति मनाउने र बिक्री गरेर केही आम्दानी पनि गरिन्छ ।’ कोलडाँडा, बिस्कुनडाँडा, सत्यवतीलगायत गाउँमा अहिले वन तरुल खोज्नेको भीड छ । उनीहरुले वनको तरुल खनेर बिक्री गरेर राम्रो आम्दानी पनि गर्छन् ।

यस पर्वलाई मगर समुदायले सबैभन्दा ठूलो चाडको रूपमा मनाउने गरेको लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले बताए । मगर समुदायकै अगुवाइमा ठाउँठाउँमा भेला, खाना महोत्सव गर्ने गरेको उनले बताए । मगर समुदायले यस पर्वको अवसरमा आफ्नो संस्कृति र परम्परालाई जोगाउने अभियानसमेत थालेको उनले बताए । मगर समुदायका कला र संस्कृति लोप हुन नदिने योजना रहेको अगुवा केहरसिंह रानाले बताए ।

माघे संक्रान्ति चाडलाई विशेषगरी चेली पर्वको रूपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि सुरु भई साउने संक्रान्ति समापन हुने उनले बताइन् । ‘आफन्तहरू भेटघाट गरी सोरठी, कौडा, मारुनी, झाम्रे, घाँटु नाच नाच्छौं,’ उनले भनिन्, ‘ठाउँअनुसार तीन दिनसम्म यो चाड मनाउने गरिन्छ ।’ जेठी, माहिली र कान्छी संक्रान्तिसम्म नाचगान, चेलीबेटी भेटघाट, रमाइलो गरेर मनाउने अर्की मगर महिला अगुवा शान्ति झेडीले बताइन् ।


प्रकाशित : माघ १, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा यति विमान दुर्घटना : ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

सुरज कुँवर, अनिष भट्टराई

काठमाडौं, पोखरा — पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । दिउँसो ४:१५ बजेसम्म एक बच्चासहित ६४ जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

‍नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले ६८ शव दुर्घटनास्थलबाट निकालिएको विज्ञप्तिमार्फत जनाएको छ । केन्द्रका अनुसार खोजी जारी छ ।

शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएसँगै दिवंगत यात्रुका परिवारजनले प्रतिष्ठान परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरै जसोको पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । हालसम्म विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।

उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१-४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


प्रकाशित : माघ १, २०७९ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×