कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूरू क्षेत्रमा मकर संक्रान्ति मेला [फोटोफिचर]

शब्द/तस्बिर : माधव अर्याल

रुरुक्षेत्र (पाल्पा) — मकर संक्रान्ति रूरू क्षेत्रमा नुहाउने र मेला भर्नेको आइतबार बिहानैदेखि भीड लागेको छ । संक्रान्ति नुहाउन पाल्पाका साथै गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत मुलुकका विभिन्न भागका साथै भारतबाट समेत श्रद्धालु आएका छन् । तीन जिल्लाको संगमस्थल रिडी रूरू क्षेत्रमा तीन दिनसम्म मेला लाग्ने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए । उनका अनुसार जेठी, माइली र कान्छी गरी तीन दिनसम्म काली गण्डकीमा नुहाउने र ऋषिकेशव मन्दिरमा दर्शन गर्ने गर्छन् । रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास छ ।

नुहाउने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने प्रचलन छ । नेपालसहित भारतबाट समेत भक्तजन आउने गरेको उनले बताए । ‘श्रद्धालु भक्तजन आउने र जाने क्रम चलिरहने परम्परा नै हो,’ उनले भने, ‘नेपालका मात्र होइन, भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरु रिडी रूरू क्षेत्रमा आएका छन् ।’ संक्रान्तिको केहीदिन अघिदेखि नै चहलपहल बढेको थियो । श्रीमद्भागवत् ज्ञान महायज्ञसमेत यहीं चलेको छ ।

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमासमेत भीड लागेको छ । कालीगण्की जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । तानसेन नगरपालिका–१४, अर्गलीका पूर्ववडाध्यक्ष कमल रानाले संक्रान्ति नुहाउन र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले निकै सहज भएको छ ।

धार्मिक आस्थाका कारण रूरू क्षेत्रमा मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत गर्ने गरेको रुरुक्षेत्र गौशालाका संचालक शंकर गिरीले बताए । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीमा मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुँईचो लाग्ने गर्छ ।सोह्रौ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान ऋषिकेशवको मूर्ति फेला पारेका थिए । सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने जनविश्वास छ । कालीगण्डकी नुहाउन र ऋषिकेश, गायत्रीमातालगायत विभिन्न देवालयहरूको दर्शन गर्ने गरेको तानसेन–१४, अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।

ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल पनि भनिन्छ । मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेका हुन् । प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्न सक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बताए । रुरु मेलाकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रमा व्यापारिक स्टलसमेत राखिएको छ । गुल्मी र पाल्पातर्फ गरी २ सय बढी स्टल छन् । यस वर्ष स्याङ्जातर्फ पनि केही स्टल, भलिबल प्रतियोगिता राखिएको छ । रुरु क्षेत्रमा होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सीहरु स्टलमा छन् । ‘व्यापारिक स्टल भयो भने मात्र मेला चलाएजस्तो हुने रहेछ,’ अर्गलीका स्थानीय तथा मन्दिर व्यवस्थापन समितिका दुर्गादत्त रेग्मीले भने, ‘गुल्मीतर्फ सांस्कृतिक कार्यक्रम, पाल्पा र स्याङ्जामा व्यापारिक स्टल बनेको छ ।’रूरू क्षेत्रमा लागेको मेलामा तीन दिनमा एक लाख बढी भक्तजन आउने अनुमान छ । पहिलो दिनलाई जेठी संक्रान्ति भनिन्छ । पहिलो दिन बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । दोस्रोलाई माहिली र तेस्रो दिनलाई कान्छी संक्रान्ति भनिन्छ । नेपालका चार धाम मध्येको एक रूरू क्षेत्रलाई भन्ने गरिन्छ । मेलामा गुल्मीको थोर्गा लगायतका किसानले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । संक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा, बागलुङ, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायत स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा आएका छन् । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवाका जीतबहादुर सोमैका अनुसार तीन दिनसम्म लाग्ने मेलामा सुपो, डालो बिक्री हुने बताए । यसबाहेक रोल्पा, रूकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लाका व्यापारीहरूले जाडो छल्नुका साथै त्यस क्षेत्रमा पाइने ऊनीजन्य वस्तुहरू ल्याएका छन् । मुस्ताङबाट उनीको सामान, राडीपाखी, कम्बल ल्याएको तर अघिल्लो वर्षमा भन्दा कम व्यापार भएको टेकबहादुर गुरुङले बताए । पूर्व रुकुमको विभिन्न गाउँबाट राडी पाखी लिएर आएका छन् ।


प्रकाशित : माघ १, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

हेर्दाहेर्दै जहाज भुईंमा

लालप्रसाद शर्मा

पोखरा — तनहुँको दुलेगौंडाबाट तीन दिनअघिमात्र माघे संक्रान्ति मनाउन आएकी थिइन् कल्पना सुनार । माइतीघरको आँगनमा उनी कपडा धुँदै थिइन् । आकासबाट चर्को आवाजमा जहाज भुईंतिर आइरहेको देखिन् ।

उनको मनमा चिसो पस्यो । ‘जहाज पूरै कोल्टिएर आइरहेको थियो, एक्कासी बम पड्केसरि ढ्वाङ्ग आवाज आयो‚’ आइतबार पोखरामा भएको यतिको जहाज दुर्घटनाकी प्रत्यक्षदर्शी उनले भनिन्, ‘यसो सेती खोंचतिर हरेकको कालो मुस्लोले छोप्यो ।’ घटनापछि घटनास्थल वरपर रुवाबासी चलेको थियो ।


सुरुको घटनास्थलमा भेटिएको जहाजको टुक्रा

बिहान ११ बज्नै लाग्दा पोखरा-७ घारीपाटनमा जहाज खसेको थियो । कोल्टिएर आएको जहाजको एउटा पखेटा स्थानीय गीता सुनारको घरभन्दा झन्डै १०/१२ मिटर नजिकै जमिनमा घिसारिएको थियो ।

त्यहाँबाट हुत्तिएको जहाजको अघिल्लो भाग सेतीखोंच पार गरेर पोखरा-१५ नयाँ गाउँतर्फ पुगेको थियो भने पछाडिको भाग सेती खोंचमा खसेको थियो ।


सबैभन्दा पहिला जहाज ठोकिएको स्थल

‘अलिकतिमात्रै यता जहाज खसेको भए बस्ती नै सखाप हुने रहेछ‚’ घटनास्थलनजिकै घर भएकी गीता सुनारले भनिन्, ‘जहाज दुर्घटना भएर यत्रो क्षति भयो । तर‚ बस्ती भने जोगियो ।’ माघेसंक्रान्तिको दिन भएकाले उनी बिहान मन्दिर गएर पूजाआजा गरेर फर्केर खाना खान लागेकी थिइन् ।

एक्कासी ठूलो आवाज सुनेपछि बाहिर निस्किएर हेर्दा जहाज दुर्घटनामा परिसकेको थियो । सेतीखोंच, ओल्लोपल्लो डिलमा पनि आगलागी भएको थियो । शवहरू यत्रतत्र छरिएका थिए । जहाज सुरुमा भुईंमा ठोकिएको स्थानमा जहाजका केही पार्टपुर्जा यात्रीका सानासाना ब्याग थिए ।


यात्रुको सामानहरु

सडकमा खेल्दै गरेका बालबालिकाहरूले जहाजभित्रबाट रुवाबासी गरेको आवाज सुनेको बताए । चालकदलका ४ सदस्यसहित ७२ जना सवार जहाज दुर्घटनामा परेको हो ।

प्रकाशित : माघ १, २०७९ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×