२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भाक्का दिवसको भव्यता

पूर्वी तराइम रहेका राजवंशी समुदायको मौलिक भाक्का दिवस मनाउन भारतमा रहेका राजवंशीहरूको पनि उपस्थिति
अर्जुन राजवंशी

बिर्तामोड — पूर्वी तराइका आदिवासी राजवंशी समुदायले मौलिक खाना संस्कृतिको रुपमा भव्य तरिकाले भाक्का दिवस मनाएका छन् । झापा र मोरङका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित उक्त समुदायले शुक्रबार छैठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो ।

कोचिला गाभुर फ्रन्ट र राजवंशी समाज विकास समितिको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा बृहत कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र भारतका विभिन्न राज्यबाट समेत आएका राजवंशीहरुले बिर्तामोडमा भाक्का दिवस मनाएका हुन् । राजवंशी जातिको सिजनल परिकार भाक्का पछिल्लो समय व्यवसायिक बनेपछि यसको संरक्षण र प्रवर्द्धनका लागि भाक्का दिवस मनाउन थालिएको हो । जाडो सिजनमा पूर्वी तराईका चोक बजारमा बिहानको खाजाको रुपमा भाक्का बेच्ने व्यापार निकै बढेको छ ।

राजवंशी जातिको विपन्न परिवारका महिलाले बिक्री गर्दै आएको भाक्का पछिल्लो समय गैर राजवंशी समुदायका महिलाले समेत व्यापारका रुपमा भाक्का बेच्ने गर्छन् । राजवंशी समुदायमा जाडो सिजनमा विशेष परिकारका रुपमा भाक्का खाने चलन छ । छोरी चेलीलाई बोलाएर परिवारका सबै भेला भएको दिन बिहान माछा, तरकार, धनिया–टमाटरको अचार र चियासँग भाक्का खाने चलन छ ।

तर, चोक बजारमा सामान्य अचारसँग मात्र भक्का खाने चलन रहेकाले यसको परम्परागत स्वाद आम मानिसमा पुर्‍याउनका लागि भक्का दिवस मनाउन थालेको राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य प्रमोद राजवंशीले जानकारी दिए । राष्ट्रिय भक्का दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।


प्रकाशित : पुस २९, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्