१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘सरकार, जनताको दु:ख यस्तो छ’

तस्बिर : अंगद ढकाल

काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहान झिसमिसेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गरेको छ । राहदानी लिनका लागि फारम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानी लिनेको गरी तीन वटा छुट्टाछुट्टै लाइन लाग्ने गरेको छ ।

बिहीबार बिहान २ बजेदेखि नै लाइनमा बसेका कोही सर्वसाधारण चिसो भगाउन चिया पिइरहेका थिए भने कोही कागज बटुलेर आगो बालेर तापिरहेका थिए । बिहानको सिरेटोबाट बच्न लाइनमा लागेका एकापसमा गुटुमुटु परेका भेटिन्छन् ।

बिहान २ बजेदेखि लाइनमा लागेकामध्ये एक हुन् नुवाकोट, धुक्चेश्वरीका ५० वर्षीय पेम्बा छिरिङ शेर्पा । ‘के गर्ने बिहानै लाइनमा बस्न नआए पालो नै आउँदैन । बाध्य भएर यस्तो चिसोमा लाइनमा बस्नु परेको छ,’ उनले भने, ‘जनताले दुःख पाएको देख्दैन सरकारले, के गर्ने ?’

लाइनमै बसेका प्यूठानका अर्जुन कुँवरले प्रणाली नभएर जनताले दुःख पाएको बताए । ‘छिटो काम होस् भनेर आएको हो । तर सिस्टम नहुँदा हामीले दुःख पाएका छौँ,’ उनले भने । पैसा तिर्दा पनि सजिलोसँग नभएको सेवाग्राहीको दुखेसो छ । बिहान ४ बजेदेखि लाइनमा बस्दा थाकेकी ३० वर्षीया उर्मिला वाइबा साथीको पिठ्युँमा टाउको टेकाएर आराम गरिरहेकी थिइन् ।

राहदानी विभागमात्र होइन, शिक्षा मन्त्रालयमा एनओसी लिनदेखि सवारी चालक अनुमति पत्र र चाडपर्वमा घर जानका लागि बसको टिकट काट्न पनि वर्षौंदेखि सर्वसाधारणले यस्तै सास्ती खेपिरहनु परिरहेको छ ।

भर्खरै गठन भएको नयाँ सरकारले राहदानी र लाइसेन्स लिँदा देखिएका लामा लाइन हटाउने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको सास्ती रोक्न कदम चाल्ने बताएका थिए । मन्त्रिपरिषद्को पहिलो बैठकले यसबारेमा निर्णयसमेत गरेको थियो । त्यस्तै बुधबार उप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षणमा पुगेका थिए ।


प्रकाशित : पुस १४, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्