कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँगारिँदै संसदीय दलका कार्यालय

तस्बिर : अंगद ढकाल

काठमाडौँ — संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ अधिवेशन सुरु हुने भएपछि त्यसको तयारीलाई तीव्रता दिएको छ । २०७४ सालको चुनावपछि बनेको संसद् भन्दा यसपटक राष्ट्रिय पार्टीहरुको संख्या बढेपछि सचिवालयले नयाँ कार्यालय पनि बनाउन थालेको छ । यसपटक राष्ट्रिय दलका रूपमा थपिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीका र राप्रपाका लागि नयाँ कार्यालय बनाइएको छ ।

यसअघि नै संसद्‍मा दलका रूपमा प्रतिनिधित्व गर्नेहरुलाई विगतकै कार्यालयहरू दिइने छ । तीनवटा नयाँ दलका लागि भने गृहमन्त्रालयनजिकै रहेको प्रिफ्याबको भवनमा कार्यालय बनाइएको छ ।

संसद्‍मा नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि तयार पारिएको संसदीय दलको कार्यालय ।

उक्त कार्यालयहरूमा अहिले आन्तरिक सजावट र रंगरोगनको काम चलिरहेको छ । कांग्रेस, एमालेले प्रयोग गर्ने पुराना कार्यालयहरूमा पनि रंगरोगन चलिरहेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाइसकेकाले अब संसद्को अधिवेशन आह्वानपछि सांसदहरूको शपथग्रहण हुनेछ ।


प्रकाशित : पुस १, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा धान खरिदको टुंगो अझै लागेन

शंकर आचार्य

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले धान खरिद सुरु गर्नेबारे अझै टुंगो लाग्न सकेको छैन । शाखा प्रमुख विकास कटुवालले यस वर्षको धान खरिद कोटासम्बन्धी पत्र बिहीबार मात्र शाखामा प्राप्त भएको बताए ।

यस वर्ष सोना मन्सुली धान १० हजार क्विन्टल र जिरा मसिनो धान २ हजार क्विन्टल खरिदको कोटा पाइएको उनले बताए । ‘हाललाई कूल १२ हजार क्विन्टल धान खरिदको कोटा यस वर्षका लागि पाइएको छ,’ उनले भने, ‘पछि धानको परिमाण थपघट पनि हुन सक्छ ।’

संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरिसकेको छ । जिरा मसिनो धानको मूल्य भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने उनले बताए ।

हाल प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जिल्लाबाहिर रहेकाले उनी आएपछि मात्र समितिको बैठक बसेर जिरा मसिनो धानको खरिद मूल्य तय गर्ने छ । ‘समितिमा वीरगन्ज उद्योग वाणिज्य संघ तथा किसान संघका प्रतिनिधिसमेत सदस्य हुन्छन्,’ उनले भने, ‘सबै तयारी गरी यस वर्ष पुस १० बाट धान खरिद हुने सम्भावना छ ।’ गत वर्ष पनि पुस १० बाटै धान खरिद सुरु गरिएको उनले बताए । शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो ।

कटुवालले यस वर्ष धान खरिदको काम चुनौतीपूर्ण हुने सम्भावना रहेको बताए । ‘यस वर्ष किसानभन्दा बिचौलिया सक्रिय हुन्छन् कि भन्ने आशंका छ,’ उनले भने, ‘जिल्ला प्राथमिक खरिद समितिले अब कसरी र के कति कागजातको आधारमा किसानको धान खरिद गर्ने भनी निर्णय गर्ने छ, त्यसपछि केही सहज होला ।’

गत वर्ष कम्पनीले सोना मन्सुली यस वर्षको भन्दा २ सय ६६ रुपैयाँ कम प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँमा खरिद गरेको थियो । त्यसैगरी, जिरा मसिनो धान प्रतिक्विन्टल ३ हजार १ सय रुपैयाँमा खरिद गरेको थियो ।

किसान महासंघ जिल्ला समितिले भने धान खरिदको दबाबस्वरूप यसै साता वीरगन्जमा जुलुश, कम्पनी शाखा परिसरमा धर्ना तथा तालाबन्दीलगायतका प्रदर्शन गरिसकेको छ ।

प्रकाशित : पुस १, २०७९ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×