पहेँलपुर चितवन

हरिहरसिंह राठौर

चितवन — कुखुरा, माछा, खसी, दूध उत्पादनको हब मानिने चितवन कुनै बेला देशभर तोरीको माग धान्ने जिल्लाका रुपमा प्रसिद्ध थियो । विभिन्न कारणले तोरी रोप्न छाडेका किसानहरू पछिल्लो समय भने पुनः पुरानै बालीमा फर्किएका छन् । तोरी उत्पादनमा पहिचान बनाएको चितवनका फाँटहरू अहिले पहेँलपुर भएका छन् ।

२०४७ सालमा चितवनमा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको थियो । २०६० सालमा त्यफ क्षेत्र घटेर सात हजार हेक्टरमा पुग्यो । त्यसयताको एक दशक पनि तोरी लगाउने किसान घटे । माटोमा सल्फर र बोरन कम भएपछि तोरी उत्पादनमा गिरावट आएको थियो ।

चालू आर्थिक वर्षमा भने १३ हजार २ सय हेक्टर क्षेत्रमा तोरी खेती भएको छ । गत वर्ष १२ हजार ४ सय हेक्टरमा तोरी लगाइएको थियो । रोग किराको प्रकोप कम भएपछि किसान पुनः तोरी खेतीमा आकर्षित भएका हुन् ।

‘पहिला जमिनमा प्रांगारिक पदार्थ प्रशस्त हुन्थ्यो । त्यसले रोगकिरा लाग्दैनथ्यो। अर्गानिक तोरी उत्पादन हुन्थ्यो । रोग किराको प्रकोपले तोरी लगाउन छाडेका थियौं,’ खैरहनी नगरपालिका १२ स्थित कुमरोज मध्यवर्ती सामुदायक वन उपभोक्ता समूहका अध्यक्ष गणेशप्रसाद श्रेष्ठले भने ।

जिल्लाको इच्छाकामना गाउपालिका-७ र अन्य ६ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ । जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेका छन् विशेषगरी खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन भएको उनले बताए । धान, मकै, गहा, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।


प्रकाशित : मंसिर २७, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्