कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत सीमा आडबाट देखिएका हिमश्रृङ्खला

रमेशकुमार पौडेल

चितवन — सोमेश्वर पहाड चितवनको दक्षिण क्षेत्रमा पर्छ । यो पहाड हुँदै नेपाल-भारतको अन्तर्राष्ट्रिय सिमाना पनि गएको छ । सदरमुकाम भरतपुरबाट पश्चिम हुँदै दक्षिण लागेपछि चितवन राष्ट्रिय निकुञ्जको जंगल छिचोलेर माडी पुगिन्छ । माडीको दक्षिणमा छ सोमेश्वर पहाड । माडीको केन्द्र वसन्तपुरबाट पनि दक्षिण लागेपछि सोमेश्वर पहाडको चुचुरोमा छ कालिका मन्दिर । नेपाल-भारत सिमानाको छेवैमा पर्ने मन्दिर पुग्दा उत्तरतिर हिमश्रृङ्खलाको लहर मजैले देख्न पाइन्छ । 

माडीलाई मध्यमंसिरपछि कुहिरोले ढपक्कै ढाक्छ । बिहान सबेरै निस्किँदा वरपर खासै केही देख्न सकिँदैन । सोमेश्वर पहाड उक्लिँदै गर्दा घाम छर्लङ्ग लागेको हुन्छ । तर पहाडको बिचमा पुगेर माडीतिर हेर्दा पूरै माडी कुहिरोमा लुकेको हुन्छ । बरु कुहिरोभन्दा माथि हिमाल देखा पर्दछ । सोमेश्वर कालिका निकै पुरानो धार्मिक क्षेत्र हो । माडीमा बस्ने आदिवासी थारु समुदायले जेठ महिनामा यहाँ विशेष पूजा गर्छन् । मन्दिर भएको ठाउँमा पुरानो गढीको केही अवेशष पनि देख्न पाइन्छ । मन्दिरको आँगन कटेपछि भारतीय सीमा सुरु हुन्छ ।

मन्दिरको पछिल्लो भागमा थकान मेट्न बस्दै गर्दा मनै रोमाञ्चित हुने हिमश्रृङ्खलाहरू देखिन्छन् । बर्खा र हिउँदमा आकाश खुलेका बेला यस्तो अद्भूत दृश्य देखिने पुजारी शोभाखर चापागाईंले जानकारी दिए । सोमेश्वरगढी र सोमेश्वर कालिकालाई नेपाल सरकारले देशको सय पर्यटकीय गन्तव्यभित्र समेत राखेको छ ।

७६ सालको कात्तिकमा त्यहाँ कलाकारहरूले मूर्ति कार्यशाला राखेर ठुलठुला ढुंगामा विभिन्न आकृति पनि कुँदेका छन् । यो बेला माडीमा तोरी फूलेको छ । पहेलपुर फाँट र टल्केका हिमाल पनि यो बेला माडीबाटै देख्न पाइन्छ । 


प्रकाशित : मंसिर २१, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्