कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शिक्षा मन्त्रालयका बेबारिस कागजात

सुदिप कैनी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — शिक्षा मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौंदेखि बेवारिस छाड्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटक/पटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो गरेको छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित पुस्तक, प्रतिवेदन, निर्णयपुस्तिका, टिप्पणी, फाइल लगायत अन्य कागजात गलिसकेको अवस्थामा भेटिएको छ ।

पुस्तकालय पुनर्निर्माण परिसरमा पुस्तक लगायत केही कागजात बेवारिसे देखिएपछि सामाजिक सञ्जालमा केशर पुुस्तकालयका महत्त्वपूर्ण दस्तावेज कबाडमा बेच्न लागिएको हो कि भन्ने प्रश्न उठेको छ । पुस्तकालय प्रमुख सुरेशकुमार यादवले केशर पुस्तकालयका पुस्तक, दस्तावेज लगायत सामग्री ४ वटा अस्थायी टहरा बनाएर सुरक्षित राखिएको जनाए । ‘पुस्तकालयको सामग्री रकर्ड सहित सुरक्षित राखिएको छ,’ उनले भने, ‘केशरमहलमा पहिले शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धिकरण विभाग, युनेस्कोको कार्यालय थियो, तिनैको पुराना कागजात पुनर्निर्माणको क्रममा हटाइएको हो ।’

निर्माण कम्पनी जेड सी जी आई/खानी जेभीले समेत यी निकायलाई ती कागजात हटाइदिन आग्रह गर्दै आएको थियो । करिब एक महिना मन्त्रालयको एनओसी र छात्रवृत्ति शाखा सानोठिमी सरेको थियो । कार्यालय सरेपछि भण्डारण गरेर राखिएको कागजात कम्पनीका कर्मचारीले बाहिर निकालेको त्यहाँका कामदारहरुले बताए । आयोजना व्यवस्थापक रनकान्त सपाकोटाले कागजात कुहिन थालेकोले फिजाएर सुकाएको बताए । ‘हामीले कागजात सहित काठपात हटाउन भनेका थियौं, हटाइदिनु भएको छैन, मन्त्रालयलाई पत्राचार गर्दा कबाडमा बेच्ने कागजात हुन् भन्नु भएको छ,’ उनले भने, ‘केही किताब भेटिएर सुरक्षित राख्दिएका छौं ।’ शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्याल लगायत कर्मचारी आएर पटक/पटक ती कागजात निरीक्षण गरी काम नलाग्ने भएको बताएका कामदारहरुले सुनाए । अर्यालकै निर्देशनमा कम्पनीले कागजात कबाडमा बेच्न लागेको पुस्तकालयका कर्मचारीहरुको भनाइ छ ।

२०७२ को भूकम्प अघिसम्म शिक्षा मन्त्रालय सहितका ती निकाय केशरमहलमा थिए । पुनर्निर्माणका लागि ती निकाय हाल त्यहाँबाट हटाइएको छ । पुनर्निर्माण सकेपछि केशरमहलमा पुस्तकालय र चिकित्सा शिक्षा कार्यालयको स्थापना गर्ने तयारी छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले भूकम्प अघिका काम नलाग्ने कागजात त्यहीँ भण्डारमा रहेको जनाए । ‘भूकम्पको बेला तत्काल प्रयोग हुने कागजात लगायत सामग्री लिएर सिंहदबार सर्‍यौं,’ उनले भने, ‘प्रयोग नहुने कागजात त्यहीँ राखिएको हो ।’

मन्त्रालयले काम लाग्ने कागजात भनेपनि कतिपय पुस्तकचाहिँ पुस्तकालयमा राख्न मिल्ने किसिमको रहेको कर्मचारीहरु बताउँछन् ।काठमाडौंका सम्पदाहरुको तस्बीर रहेको ४४ वर्षअघि प्रकाशित पुस्तक, शिक्षाका पुरान ऐन निमयहरुको संग्रह लगायतका सयौं पुस्तक पनि फालिएको छ । ‘शिक्षा मन्त्रालयले नै गैरजिम्मेवारी पूर्वक आफ्ना कागजात फालेर हिँडेको छ, कतिपय सामग्री त विद्यालयका पुस्तकालयलाई दिन सकिने खालका पनि छन्,’ कम्पनीका एक इन्जिनियरले भने । फालिएका ठाउँबाट महत्त्वपूर्ण लागेका पुस्तकहरु कम्पनीका कामदारले टिपेर सुरक्षित राख्ने गरेका छन् ।

शिक्षा मन्त्रालयले भने अनावश्यक कागजात मात्रै नष्ट गरिएको जनाउँदै केशर पुस्तकालयका सबै कागजात सुरक्षित रहेको बताएको छ । ‘केशर पुस्तकालय सुरक्षित छ,’ पुस्तकालयका सूचना अधिकारी नानीराम कार्कीले कान्तिपुरसित भने, ‘पाठकलाई सेवा दिने काम अस्थायी टहराबाट भइरहेको छ ।’पुराना कागजात नष्ट गर्ने र बेच्ने काम भइरहेको छ भन्ने सुनियो नि ? ‘त्यो गलत हो, शतप्रतिशत सत्य होइन,’ सूचना अधिकारी कार्कीले भने, ‘कसरी हल्ला चल्यो थाहा भएन । यसअघि पुराना काम नलाग्ने फर्निचरहरूलाई पुस्तकालय, सुरक्षाकर्मी र ठेकेदार बसेर धुलो व्यवस्थापन गर्ने काम गरेका हौं । तर कुनै पुस्तक नष्ट गर्ने काम भएको छैन ।’


प्रकाशित : मंसिर १९, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्