कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

देशैभर चुनावी रौनक

कान्तिपुर टिम

काठमाडौँ — मुलुक हाँक्ने प्रतिनिधि छनोट गर्ने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएसँगै मतादाताहरू मतदान गर्न उत्साहित देखिएका छन् । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ ।

पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । झन्डै ८ वर्ष लगाएर जनताले पहिलो पटक आफ्ना प्रतिनिधि (संविधानसभा)मार्फत लेखेको वर्तमान संविधान लागू भएपछि हुँदै गरेको यो दोस्रो आवधिक निर्वाचन हो । यो निर्वाचनमा करिब २३ लाख मतदाता (१३ प्रतिशत) पहिलो पटक सहभागी हुँदै छन् । उनीहरूले आफ्ना आकांक्षा वा असन्तुष्टि कसरी प्रकट गर्छन् भन्ने विषयले आगामी दिनको राजनीतिमा प्रभाव पार्ने छ ।

यो निर्वाचनबाट प्रतिनिधिसभामा २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) र प्रदेशसभामा ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सांसद चयन हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये झन्डै १२ प्रतिशत अर्थात् २२ लाख ९४ हजार १९ जना पहिलो पटक मतदानमा सहभागी हुँदै छन् । निर्वाचन आयोगका अनुसार २०७४ मा भएको आमनिर्वाचनयता २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएका छन् । ६ महिनाअघि भएको स्थानीय तह निर्वाचनयता मात्रै २ लाख ५४ हजार मतदाता थपिएका हुन् । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदाता १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् । विदेशमा रहेका २१ लाख ५९ हजार जना भने यस पटक पनि मतदानबाट वञ्चित भएका छन् ।

मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाइ, लाइटर लैजान निषेध गरिएको छ । त्यस्तै अपांगता भएका, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवतीलाई सहजै मतदान गर्ने व्यवस्था मिलाएको आयोगको दाबी छ ।


प्रकाशित : मंसिर ४, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्