कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धरानमा चासोक तङ्नामको रौनक [तस्बिरहरु]

प्रदीप मेन्याङ्बो

सुनसरी — पूर्वका याक्थुङ लिम्बु समुदायले मंसिर १ गतेदेखि चासोक तङ्नाम मनाउन सुरु गरेका छन् । अन्नबाली पाकेपछि पहिलो पटक युमा (इस्टदेवी–प्रकृति) लाई सबैभन्दा पहिले येवा, येमानी, सांम्बा, फेदाङमाको सहयोगमा परम्परागत सनातन विधि अपनाई मानिसले खाँदै एकापसमा हार्दिकता आदानप्रदान गर्ने अवसरलाई चासोक तङ्नाम भन्ने गरिन्छ ।

गाउँघरको बोलीचालीको भाषामा न्वागी पूजासमेत भनिने चासोक तङ्नाम याक्थुङ लिम्बु समुदायका लागि सामाजिक, सांस्कृतिक, धार्मिक (प्रकृतिको पूजा) पारिवारिक, राजनीतिक र समग्र जीवन पद्धतिको सुरुआत मानिने गरेको छ । युमा साम्यो महासभा आयोजनामा सुरु भएको चासोक तङ्नाम उत्सवलाई सामूहिकरुपमा मनाउन यसपटक धरान-१४ विजयपुरको ऐतिहासिक लिम्बुवानको राजधानी मानिएको भग्नावशेषको छेउको पञ्चकन्या जंगलमा भेला भएका थिए । चासोक तङ्नाममा सहभागी भएका बुद्धिजीवी बालकृष्ण माबुहाङले भने, ‘याक्थुङ लिम्बुका पुर्खाहरु सावायेत्हाङहरुलाई सम्भवत: कृषियुग सुरु हुनुभन्दा अघि नै तागेरा निङवाफुमाङले पेना/माङद:क् (कोदो), पारामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउबिजन छर्न सल्लाह दिएर भस्मे फाडेर उब्जाएको ती अन्नबाली प्रकृतिलाई सबैभन्दा पहिलो अर्पण गरेर रमाउँदै खाने चलनको निरन्तरता हो, चासोक तङ्नाम ।’

मानवशास्त्रीहरुले कृषियुग करिब १० वर्षअघि सुरु भएको बताउँदै आएका छन् । माबुहाङकाअनुसार याक्थुङ लिम्बु समुदायको क्यालेन्डर विकास भएको छैन । प्रकृतिमा हुने ऋतु परिवर्तनलाई आधार बनाएर चासोक लगायत अन्य अवसरमा पूजाअर्चना गर्ने मुन्धुमी परम्परा चल्दै आएको छ । उनकाअनुसार याक्थुङ लिम्बु समुदायका तिनै पुर्खाले गरिल्याएका, मानिल्याएका विधिविधानको वर्णन मुन्धुममा उल्लेख छ । ती मुन्धुमलाई येवा येमा, साम्बा, फेदाङ्माले कण्ठस्त पार्दै पुस्तान्तरण गर्दै आएको र पछिल्लो समयमा याक्थुङ सिरिजंगा लिपिमा र नेपालीमा अनुदित भएर मुन्धुमी पुस्तकको रुपमा प्रकाशित भएका छन् ।

मुन्धुम र भाषाका अध्येयता रहेका प्रदेश १ का पूर्वप्रमुख प्रा गोविन्द तुम्बाहाङले याक्थुङ लिम्बु समुदायले मनाउने चासोक तङ्नाम सामाजिक र पारिवारिक सम्बन्ध बलियो बनाउने चाडको रुपमा विकसित भइरहेको बताए ।सहप्राध्यापक रमेश इजमले चासोक तङ्नाममा याक्थुङ लिम्बु समुदायका सदस्यहरु एकापसमा भेटघाट गर्ने, छरछिमेक कुलकुटुम्बबीच शुभकामना साटासाट गर्ने, कुलपितृको सामूहिक पूजाअर्चना गर्ने र सामूहिक रुपमा मनोरन्जन गर्ने गरेको बतााए । चासोक अवधिभर परम्परागत भेषभूषामा सजिएर आएका याक्थुङ समुदायका युवायुवती र प्रौढहरुले धान नाच्ने, च्याब्रुङ नाच्ने, पालाम र ख्याली, हाक्पारे गाउँदै रमाइलो गर्ने गरेका छन् ।


प्रकाशित : मंसिर २, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्