चुनावमा घर फर्कने चटारो

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आइतबार हुने आमनिर्वाचनमा मतदान गर्न काठमाडौं छाडेर घर फर्कनेहरू बढेका छन् । शुक्रबार काठमाडौंको कोटेश्वर, जडिबुटी र लोकन्थली क्षेत्रमा मतदानका लागि घर फर्कनेहरुको भीड नै लागेको पाइयो ।

एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । उनीहरूले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्नेछन् । निर्वाचनमा प्रतिनिधिसभाको २ हजार ४ सय १२ र प्रदेशसभाको ३ हजार २ सय २४ जना उम्मेदवार छन् ।

प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, वाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् । साढे २१ लाख मतदाता विदेशमा रहेको अनुमान छ । ०७४ मा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकामा १ करोड ५ लाख ९३ हजार ९ सय ७१ ले मतदान गरेका थिए ।

निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएका छन् ।


प्रकाशित : मंसिर २, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

छठ पर्वमा दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्य अर्घ्य दिई पूजा अर्चना गरिएको छ । साँझ थापाथलीस्थित वाग्मती किनारमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ । वाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठी माताको पूजा अर्चना गरेका छन् । प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुने जानकारी दिए । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नसमेत टेवा पुग्ने उनको भनाइ छ ।राजधानीको गुहेश्वरी, कमलपोखरी, थापाथलीलगायत नदी किनार र तलाउमा व्रतालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।

प्रकाशित : कार्तिक १३, २०७९ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×