महानगरले ठेला खोसेपछि शर्मिला भन्छिन् : मलाई जस्तो कसैलाई नपरोस्

शुक्रबार उनलाई दुई जनाले ५० र २० गरी ७० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई पनि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ठेला जफत गरेपछि महानगरकै गाडीमाथि आफ्नो ठेला समातेरै शर्मिला तामाङ बिहीबार महानगर प्रहरीको ब्यारेकसम्म पुगिन् । ठेला र्फिता गरिदिन्छन् कि भन्ने झिनो आशले रोइकराइ गरिन् तर महानगर प्रहरीले जफत गरेको ठेला फिर्ता गरेन ।

थापाथली नदी किनारमा रहेको पौरखी बस्ती । शर्मीला यही बस्तीमा आफ्नो फुपूको टहरामा बस्दै आइरहेकी छिन् ।

महानगरीय प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नियन्त्रणमा लिइएका ठेला स्वत: लिलामी प्रकियामा जाने र कुहिने सामानहरूलाई भने जरिवाना तिरायर छाड्ने गरिएको छ । 'शर्मिला तामाङको केसमा भने निम्न आय भन्ने विषय नै होइन । सडकपेटी, फुटपाथ अतिक्रमणको विषय हो र उहाँहरूलाई पटक-पटक सम्झाउँदा पनि नमानेपछि त्यस्तो भएको हो । हामी नियम कानुनको परिधिभित्र रहेर हामी काम गर्ने हो, हामीलाई यस्तो भावनात्मक कुरा गरेर कुनै अर्थ पनि राख्दैन,' उनी भन्छन् ।

आफ्नो २ वर्षे छोरा दीपलाई सुताउँदै शर्मिला ।

शर्मिला भने आफ्नो ठेलालाई डोजरले कुल्चिदिएपछि थापाथलीकै नदी किनारमा रहेको पौरखी बस्तीमा फर्किइन् । शर्मिला यही बस्तीमा रहेको आफ्नो फुपूको टहरामा बस्दै आइरहेकी छिन् । शुक्रबार दिउँसो बस्तीमा पुग्दा उनी, उनका श्रीमान् र २ वर्षीय बच्चा खाना खाँदै गरेका भेटिए । कोठामा एउटा खाट, ग्यास र पसलका थोरै सामानहरू थिए । बस्तीमा अधिकांशलाई डेंगी भएको थियो । उनका श्रीमान् पनि यसबाट अछुतो रहन सकेनन् ।

आफ्नो ठेला पाउने आशा सकिएको पीडा सुनाउँदै शर्मिला तामाङ ।

उनका श्रीमान् प्राय: लमजुङमै ज्यामी काम गर्दै आएका छन् । उनी कहिलेकाहीँ भने काठमाडौं आउने गरेका छन् । २०५९ सालमा सुन्दर भविष्यको कल्पनामा दम्पती काठमाडौं छिरेका थिए । लमजुङमा उनीहरूको घर मात्र छ बारी छैन, खेतीकिसानी गर्न गाह्रो छ। उनका श्रीमान्‌ले काम गरेर पाउनुपर्ने पैसा पनि अझै पाएका छैनन् ।

नियन्त्रणमा लिइएको ठेलाबाट बचेका सामान ।

श्रीमान्‌को कमाइ नभएपछि घर धान्ने सम्पूर्ण जिम्मा शर्मिलाको काँधमा आइपुग्यो । श्रीमान् लमजुङ नै फर्किए । सुरु-सुरूमा अरुको घरमा काम गर्न बसेकी थिइन् । त्यसैक्रममा माइतीबाट काठमाडौं फर्किने क्रममा दुर्घटनामा परिन् । उनको दाहिने काँधमा स्टिल लगाउनुपर्ने भयो । त्यसपछि उनले घरको काम गर्न सकिनन् ।

दुर्घटनामा परेर काँधमा राखिएको स्टिल देखाउँदै शर्मिला । भक्तपुरस्थित इवामुरा अस्पतालले १ वर्षमा निकाल्नु पर्छ भनेको स्टिल साढे २ वर्ष हुँदा पैसा नभएकाले त्यसै छ ।

अस्पतालले १ वर्षमा निकाल्नुपर्छ भनेको स्टिल साढे २ वर्ष हुन लाग्दा पनि अझै पनि उनको काँधमै छ । आर्थिक स्थिति कमजोर भएपछि हातको दुखाइ सहेरै भए पनि सुरु-सुरुमा छोरालाई बोकेरै नाङ्लो पसल खोलिन् । पछि त्यतैका स्थानीय दलबहादुर कामीले उनलाई अन्यको सहयोगमा ठेला मिलाइदिएका थिए । ठेला पाएपछि उनी खुसी थिइन् । बिहान ४ बजे बच्चा बोकेर कालिमाटी जान्थिन् । सामान ल्याएर पसल जान्थिन् । दुई छाक खानलाई गाह्रो थिएन । 'आफ्नो गरिखाने भाँडो नै त्यही थियो, त्यही पनि गयो,' उनी भन्छिन् ।

महानगरले सडक व्यापारमाथि कडाइ गरेपछि अब के गर्ने भन्ने दोधारमा छिन् उनी । 'म त आधा पेट खाएर बसूँला तर यो बच्चाको पेट कसरी भर्ने ?,' उनी भन्छिन्, 'सडकमा बस्ने रहर होइन, सटर लिएर बस्न सक्ने भएको भए सडकमा किन बस्थेँ र ?' मजबुरीले नै आफूलाई सडकमा ल्याएको उनको भनाइ छ । 'हामीजस्तै बाध्यताले सडकमा आएको भए पो थाहा हुन्छ; संघर्ष के हो ? दुःख के हो ?,' उनी भन्छिन् । महानगरले माइकिङ नै गरेको पनि आफूलाई थाहा नभएको उनले बताइन् । 'मलाई फोन चलाउन आउँदैन, आफूसँग यस्तो हुन्छ भनेर थाहा थिएन,' उनी भन्छिन्, 'सडकमा आर्थिक स्थिति राम्रो हुने/नहुने दुवै छन् । हुनेलाई कहाँ राख्ने नहुनेलाई कहाँ राख्ने सरकारले सोचिदिएको भए हुन्थ्यो ।'

कान्तिपुरमा उनको तस्बिर र समाचार प्रकाशित भएपछि केही मनकारी व्यक्तिले आर्थिक सहयोग गरेका छन् । शुक्रबार दुई जनाबाट उनले ५० र २० गरी ७० हजार रुपैयाँ सहयोग प्राप्त गरेकी छिन् । त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पनि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । मेयर राईले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेका हुन् ।

नाम नखुलाउने सर्तमा आर्थिक सहयोग गरेका व्यक्तिसँग फोनमा बोल्दै शर्मिला । उनले ५० र युकेमा बस्ने इशा माया गुरुङ्गले उनलाई २० हजार रुपैयाँ सहयोग गरेका छन्।

थोरै नै भए पनि सहयोग प्राप्त भएपछि उनलाई केही राहत महसुस भएको छ । उनी भन्छिन्, 'अब सकियो भने सटर लिएर व्यापार गर्छु ।' आफूलाई जस्तो पीडा अरु ठेला व्यापारीहरूलाई नपरोस् भन्ने उनको चाहना छ ।

आफूलाई आएको आर्थिक सहयोग प्राप्त गरेपछि शर्मिला तामाङ ।


प्रकाशित : आश्विन २८, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्

शर्मिलालाई स्वाभिमानी बन्न सिकाएको ठेला महानगरको कब्जामा

दिपेन्द्र रोक्का

काठमाडौँ — अपराह्न १२:२० बजे बिहीबार महानगरपालिकाको सेतो टाटा ट्रक थापाथलीको प्रसुतिगृहको पूर्वी गेटमा आएर रोकियो । नजिकै लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीला तामाङ आफ्नो ठेलामा चिया र चटपटे व्यापार गर्दै थिइन् । महानगर प्रहरीहरू एक्कासी आएर उनको ठेलाका सामान छरपस्ट पार्न थाले । उनको ठेला खाली गराएर महानगरको गाडीमा राख्न खोजियो ।

थापाथली प्रसूतिगृहको पूर्वी गेटमा शर्मिला तामाङको ठेला नियन्त्रणमा लिँदै महानगरीय प्रहरी ।

शायद उनले आफूसँग यस्तो हुन्छ होला भन्ने सोच्नसमेत भ्याइनन् होला । त्यही भएर महानगरप्रहरीले ठेला नियन्त्रणमा लिइसक्दा पनि उनका हातहरूले त्यो ठेलालाई छाड्न मानिरहेको थिएन । रोइकराइ गरेर बरु त्यही ठेलासँगै महानगरको गाडीमा चढिन् शर्मिला । रुँदै कराउँदै ठेला नियन्त्रणमा लिएका नगरप्रहरीसामू हारगुहार गरिरहिन् ।

आफ्नो ठेला छाडिदिन महानगरीय प्रहरीसँग अनुरोध गर्दै शर्मिला तामाङ ।

२०७८ चैत १ मा कान्तिपुरकर्मी मधु शाहीले 'पुन्टे छोरो, ठेला र स्वाभिमान' नामक शीर्षकको रिपोर्टमा शर्मिला तामाङले २ वर्ष अघि पहिलो लकडाउनमा उनका श्रीमान्‌ले उनलाई र छोरालाई छाडेर गएको बताउँथिन् ।दैनिक जीवनयापन गर्न गाह्रो भएपछि २ हजारमा नाङ्लो व्यापार सुरु गरिन् र पछि एक जना मनकारीले उनलाई ठेला किनिदिए । त्यही ठेलाको व्यापारले दैनिक ५ सयदेखि १ हजार रूपैयाँसम्म कमाउने गर्थिन् । पछि उनका श्रीमान् पनि बिरामी भए।

२०७८ चैत १ मा ठेलामा चटपटे बनाउँदै गरेकी शर्मिला तामाङ र उनका १८ महिनाका छोरा । तस्बिर : मधु शाही/कान्तिपुर

सूर्ति‚ चुरोट‚ चिया र चटपटे बेचेर आफ्ना बच्चा र बिरामी श्रीमान्‌को रेखदेख गर्न सघाएको त्यही ठेला पनि अहिले काठमाडौं महानगरपालिकाको कब्जामा परेको छ ।

थापाथली चोकमा अन्य सडक व्यापारीका सामग्री नियन्त्रणमा लिनका लागि रोकिएको महानगरको गाडी र ठेलासँगै सवार शर्मिला ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउनुका साथै फुटपाथ र सडकपेटीमा व्यापार गर्ने व्यापारहरूलाई नियन्त्रणमा लिँदै आइरहेको छ ।


प्रकाशित : आश्विन २७, २०७९ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×