कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शर्मिलालाई स्वाभिमानी बन्न सिकाएको ठेला महानगरको कब्जामा

दिपेन्द्र रोक्का

काठमाडौँ — अपराह्न १२:२० बजे बिहीबार महानगरपालिकाको सेतो टाटा ट्रक थापाथलीको प्रसुतिगृहको पूर्वी गेटमा आएर रोकियो । नजिकै लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीला तामाङ आफ्नो ठेलामा चिया र चटपटे व्यापार गर्दै थिइन् । महानगर प्रहरीहरू एक्कासी आएर उनको ठेलाका सामान छरपस्ट पार्न थाले । उनको ठेला खाली गराएर महानगरको गाडीमा राख्न खोजियो ।

थापाथली प्रसूतिगृहको पूर्वी गेटमा शर्मिला तामाङको ठेला नियन्त्रणमा लिँदै महानगरीय प्रहरी ।

शायद उनले आफूसँग यस्तो हुन्छ होला भन्ने सोच्नसमेत भ्याइनन् होला । त्यही भएर महानगरप्रहरीले ठेला नियन्त्रणमा लिइसक्दा पनि उनका हातहरूले त्यो ठेलालाई छाड्न मानिरहेको थिएन । रोइकराइ गरेर बरु त्यही ठेलासँगै महानगरको गाडीमा चढिन् शर्मिला । रुँदै कराउँदै ठेला नियन्त्रणमा लिएका नगरप्रहरीसामू हारगुहार गरिरहिन् ।

आफ्नो ठेला छाडिदिन महानगरीय प्रहरीसँग अनुरोध गर्दै शर्मिला तामाङ ।

२०७८ चैत १ मा कान्तिपुरकर्मी मधु शाहीले 'पुन्टे छोरो, ठेला र स्वाभिमान' नामक शीर्षकको रिपोर्टमा शर्मिला तामाङले २ वर्ष अघि पहिलो लकडाउनमा उनका श्रीमान्‌ले उनलाई र छोरालाई छाडेर गएको बताउँथिन् ।दैनिक जीवनयापन गर्न गाह्रो भएपछि २ हजारमा नाङ्लो व्यापार सुरु गरिन् र पछि एक जना मनकारीले उनलाई ठेला किनिदिए । त्यही ठेलाको व्यापारले दैनिक ५ सयदेखि १ हजार रूपैयाँसम्म कमाउने गर्थिन् । पछि उनका श्रीमान् पनि बिरामी भए।

२०७८ चैत १ मा ठेलामा चटपटे बनाउँदै गरेकी शर्मिला तामाङ र उनका १८ महिनाका छोरा । तस्बिर : मधु शाही/कान्तिपुर

सूर्ति‚ चुरोट‚ चिया र चटपटे बेचेर आफ्ना बच्चा र बिरामी श्रीमान्‌को रेखदेख गर्न सघाएको त्यही ठेला पनि अहिले काठमाडौं महानगरपालिकाको कब्जामा परेको छ ।

थापाथली चोकमा अन्य सडक व्यापारीका सामग्री नियन्त्रणमा लिनका लागि रोकिएको महानगरको गाडी र ठेलासँगै सवार शर्मिला ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउनुका साथै फुटपाथ र सडकपेटीमा व्यापार गर्ने व्यापारहरूलाई नियन्त्रणमा लिँदै आइरहेको छ ।


प्रकाशित : आश्विन २७, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा साइकल यात्री कति सुरक्षित ?

दिपेन्द्र रोक्का

काठमाडौँ — ललितपुर, झम्सिखेलका विपुल रावल दैनिक ८ किलोमिटर साइकल चलाउँछन् । उच्च अध्ययनका लागि जर्मनी जाँदा त्यहाँ उनले विकसित राष्ट्रले अवधारणामा लिएको साइकल सहर कस्तो हुन्छ भन्ने देखे र यहीँबाट उनलाई आफ्नो दैनिकी साइकलमै सुचारू गर्न थप प्रेरणा मिलिरह्यो। स्वदेश फर्किएपछि पनि उनी आफू एक्लै यात्रा गर्दा सकभर साइकल नै प्रयोगमा ल्याउँछन् । तर उपत्यकामा साइकल यात्रीका लागि भनेर पर्याप्त नीति–नियम बनेका छैनन्।

सडकमा साइकल यात्रीलाई मोटर चालकले गर्ने व्यवहारको तीतो अनुभव सुनाउँछन् उनी । उपत्यकामा मोटर चालकहरूमाझ सडक, साइकल चालकलाई पनि हो भन्ने जनचेतना कम मात्रामा पाइएको छ । साइकल चलाउने कसैको रहर र बाध्यता हो । गन्तव्यमा पुग्न पनि सजिलो , व्यायाम पनि हुने र वातावरणमैत्री भएकै कारण साइकलप्रति सबै वर्ग र उमेर समूहका मानिसहरू आकर्षित छन् । तर उचित नीति नबनाइँदा र प्रत्यागत साइकल लेन नहुँदा साइकल यात्रीहरू दुर्घटनाको जोखिममा रहेका छन् ।

गोंगबुका निरबहादुर अधिकारीलाई भारतीय दूतावासको जागिर सकेर घर फर्किने क्रममा सामाखुसी नजिकै साइकल चलाउने क्रममा मोटरसाइकलले ठक्कर दियो । करिब ८ वर्षदेखि साइकलमै गुजारा गरिरहेका उनको टाउकोमा गहिरो चोट लाग्यो । अहिलेसम्म उनको उपचारमा २४ लाख खर्च भइसकेको छ जसमा ११ लाख मात्र मोटरसाइकल चालकले बेहोरेका छन् ।

नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ उपत्यकामा प्रत्यागत साइकल लेन नहुँदा र सडकमा साइकलप्रति रहेको आम बुझाइका कारण साइकल यात्रीहरू दुर्घटनाको जोखिममा रहेको बताउँछन् । हरेक सहरमा साइकल लेन आवश्यक रहेको र त्यसको उचित नियमन हुनु पर्ने उनको बुझाइ छ ।

ललितपुरमा ३२ किलोमिटर साइकल लेन रहेको छ ।२०७६ मंसिर १४ देखि ललितपुर महानगरपालिकाले नेपाल साइकल सोसाईटीसँगको सहकार्यमा सुरु गरेको साइकल लेन बनाउने काम २०७७ पुसदेखि सञ्चालनमा आएको हो। सुरुवाती दिनमा यी साइकल लेनमा हरियो रंग पोतेर साइकल लेन छुट्याइएको थियो । तर यी साइकल लेन कसैको सवारीसाधन पार्किङ , व्यवसाय सञ्चालन र सडक किनारमा निर्माण सामग्री थुपारिँदा अतिक्रमणमा परे । लेन भए पनि ठूला सवारी साधनले साना सवारीलाई हेप्ने क्रम निरन्तर चलिरह्यो । यी लेनमा साइकल विरलै मात्रामा गुडे । समाधानका निम्ति अहिले ललितपुर महानगरपालिकाले लेनमा साइकल मात्र गुड्ने बनाउने बोेलार्ड लगाउने काम सुरु गरेको छ । लगनखेलको आर्मी पेट्रोल पम्पदेखि सातदोबाटोसम्म ३ फिटको रबरको बोलार्डले साइकल यात्रीलाई आफ्नो लेनमा चलाउँदा सहज र सुरक्षित महसुस दिएको छ । ८ मिटरभन्दा चौडा सडक, सडक विभागको अधिकार क्षेत्रमा परेपनि महनगरले गरेको यो काम प्रंशसायुक्त रहेको नेपाल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ बताउँछन् ।

ललितपुर महानगरपालिकाका प्रवता राजु महर्जनका अनुसार साइकल लेन निर्माण भएपनि यसमा अनुगमन मुख्य चुनौती रहेको बताउँछन् । 'विगतका दिनमा पनि यी लेनहरू अतिक्रमणमा परे र अब नगर प्रहरीको संख्या बढाएर अनुगमन थप प्रभावकारी बनाउने योजना हामीले लिएका छौं ।आउँदा दिनमा साइकल लेन थप सहज बनाउन बल्खुदेखि काटेश्वर सम्मको चक्रपथ सडक खण्ड अन्तर्गत दुवैपट्टी साइकल लेन बनाउने परियोजना ललितपुर महानगरको रहेको छ । उपत्यकाको ललितपुरमा साइकल लेनले यात्रीलाई सहजता दिए पनि काठमाडौंमा यस्तो हुन सकेको छैन । उपत्यकामा चल्ने साइकल यात्रीहरूलाई डेडिकेटेड लेन नहुँदा समस्या परेको मानिसहरूले गुनासो गरिरहेका छन् । विगतमा काठमाडौं उपत्यकामा माइतीघरदेखि तीनकुने सम्म साइकल लेन बनाइएको थियो तर अरनिको राजमार्ग विस्तारका कारण साइकल लेन बिलिन हुन पुग्यो । काठमाडौं महानगरपालिकाले साइकल लेन बनाउन गत वर्ष ५ करोड बजेट पाइसकेको छ र साइकल लेनको डिजाइन पनि पारित भइसकेको छ । अब विद्युत प्राधिकरणको अन्डरग्राउन्ड तार बिछ्याउने काम र मेलम्चीको पाइपको काम सम्पन्न भएपछि काठमाडौंमा साइकल लेनको काम सुरु हुने सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख राम थापाले बताए ।

सरकारले उचित साइकल लेन र त्यस सम्बन्धित नीति बनाएर साइकल यात्रीलाई प्रोत्साहन गर्न सकेमात्र उपत्यकामा साइकल सिटी बन्ने जानकारहरुको बुझाइ छ । बनेका लेनहरूको उचित नियमन र साइकल सम्बन्धी जनचेतना फैलाउन सके मात्र सडकमा साइकल यात्रीहरू सुरक्षित हुनेछन् ।

प्रकाशित : भाद्र २०, २०७९ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×