पाल्पाका शक्तिपीठमा जमरा चढाउने र दर्शन गर्नेको भीड

माधव अर्याल

पाल्पा — दसैंको नवौं दिन महानवमीको दिन मंगलबार बिहानैदेखि पाल्पाका शक्तिपीठहरूमा देवीको दर्शन गर्ने, जमरा चढाउनेको भीड लागेको छ । पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

जमरा चढाउनुका साथै दर्शन गर्नेको भीड लागेको हो । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित भैरव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुको भीड छ । मन्दिरमा बोका, पाडा, कुखुरा चढाउन आउनेको भीड लागेको मन्दिर व्यवस्थापन समितिकाक अध्यक्ष गोविन्द पोखरेलले जानकारी दिए । भैरवस्थान मन्दिरमा साथै पञ्चवलीसमेत दिने गरिन्छ । 

पाल्पाका विभिन्न स्थानमा रहेका देवीका मन्दिर, कोतघरमा पूजा गर्नेको भीड लागेको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा देवी-देवताका मन्दिर, कोतघर, शक्तिपीठमा श्रद्धालुले लगेर चढाउने परम्परा रहेको इतिहासविद् निर्मल श्रेष्ठले जानकारी दिए । नवमीका दिन देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिइएको छ । 

पाल्पाका अग्ला डाँडामा रहेका कोतहरुमा हर्षबढाइँका साथ अग्ला डाँडामा रहेका देवीका मन्दिरमा पूजा गरिन्छ । तानसेनस्थित निशान घरमा निशान भगवती, ऐतिहासिक दसैंघरमा पूजा गरिएको छ । जिल्लाकै मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले, लिपिन्देवी, बतासे, ख्याहालगायत गाउँका कोतघर र देवीको मन्दिरमासमेत नवमीका दिनमा दर्शनार्थीको भीड लागेको छ ।


प्रकाशित : आश्विन १८, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्