१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

दसैंमा जुम्ली भेडाले खलंगा भरिभराउ

डीबी बुढा

जुम्ला — दसैंलाई लक्षित गर्दै जुम्ला सदरमुकाम खलंगामा भेडाहरू भरिभराउ भएका छन् । गाउँदेखि किसान र व्यापारीले भेडाहरू सदरमुकाम खलंगा पुर्‍याएका हुन् । चरनक्षेत्रको अभाव र व्यावसायिक भेडापालनका कारण दिन प्रतिदिन लोप हुँदै गइरहेको जुम्ली भेडा योपटक भने अत्यधिक मात्रामा भित्रिए । 

उसो त कालिकोट, मुगु, डोल्पा, जाजरकोट र बाजुराका भेडा पनि जुम्लामा ल्याइएका थिए । तर बाहूल्यता जुम्ली भेडाकै थियो । स्थानीय कृष्णबहादुर बुढाले भने, ‘दसैंमा जुम्ली भेडाको महत्त्व बढी हुने भएकाले माग पनि अत्यधिक छ । दसैंमा जुम्ली भेडाको बली घरघरमै दिने गरिन्छ ।’

चार वर्षअघिसम्म तिब्बती भेडा-च्याङ्ग्राको आयात ह्वातै बढेको थियो । व्यापारीहरू मुगुको नाग्चालाग्नाबाट च्याङग्रा कर्णाली भित्र्याउने गर्थे । सस्तो हुने भएकाले जुम्लावासीहरू दसैंमा च्याङग्राकै बली चढाउने गर्छन् ।  

कृष्णबहादुरले भने, ‘उतिबेला जुम्ली भेडाको मूल्य १० हजार रुपैयाँ हुँदा च्याङ्ग्रा ८ हजारमा बिक्थे । तर च्याङग्रा व्यापारीलाई जुम्लासम्म पुर्‍याउनै सास्ती हुन्थ्यो ।  अहिले जुम्लीको दसैं जुम्ली भेडाले नै धानेका छन् ।’

यो समयमा व्यापारी भेडापालक किसानको खर्कमै पुगेर भेडा खरिद गर्ने गरेका छन् । यो वर्ष जुम्लामा भेडाको मूल्य न्यूनतम १६ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म पुग्यो । सदरमुकाम खलंगामा मात्रै झन्डै ५ हजार भेडा भित्रिएका छन् ।   


प्रकाशित : आश्विन १७, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्