बाई बाई काठमाडौं, ह्याप्पी दसैं

तस्बिर : केशव थापा, तस्बिर : इलिट जोशी

काठमाडौँ — दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रम जारी छ । काम, व्यापार–व्यवसाय, शिक्षादिक्षा लगायतको सिलसिलामा काठमाडौंमा रहेका उनीहरु दसैं मनाउन घर फर्कन थालेका हुन् । दसैं नजिकिँदै गर्दा काठमाडौंबाट बाहिरिनेहरु बढेका छन् । आज कलंकी , कोटेश्वर पुग्दा घर फर्कनेहरुको भीड बढेको पाइयो । दसैंको अवसर पारेर घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।


प्रकाशित : आश्विन १५, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

परदेशमा मजदुरी गरेर दसैंमा घर

‘गाउँमै रोजगारी पाउने भए दुई/चार सयका लागि किन भारततिर जान्थे ?, तिहार खाएर फेरि गइहाल्नुपर्छ’ 
भवानी भट्ट

कञ्चनपुर — पिठ्युँमा स्याउको पेटी, त्यसमाथि लुगा कपडाको झोला । असोज मध्यको दिउँसोको गर्मी । निधारबाट पसिना बगिरहेको छ । असारमा रोपाइँ सकेर भारत पसेका कैलाली सुख्खडका मनमोहन बुढा शुक्रबार गड्डाचौकी नाकामा यस्तै अवस्थामा भेटिए । 

बुढा खेतीपातीको काम सकेर असार दोस्रो साता काम खोज्दै सिमला पुगेका हुन् । उनी तीन महिना सिमलाका स्याउ बगानमा काम गरेर दसैंका लागि घर फर्किन लागेका हुन् । ‘घरमा धान भित्र्याउने बेला भयो, दसैं पनि आइपुग्यो,’ उनले भने, ‘सिमलामा पनि सबै बगान खाली भइसकेका छन्, दसैं मान्न घर आएँ ।’

५२ वर्षीय बुढा दुई दशकदेखि रोजगारीको खोजीमा भारततर्फ आउजाउ गरिरहेका छन् । उनको रोजगारीको प्रमुख गन्तव्य सिमला नै हो । कुनै वर्ष उत्तराखण्डका पहाडी जिल्लातर्फ पनि जान्छन् । ‘त्यहाँ स्याउ टिप्ने र बोक्ने काम पाइन्छ,’ उनले भने, ‘दसैं–तिहारपछि घाँस काट्ने र स्याउ बोक्ने काम पाइन्छ ।’ उनका अनुसार दैनिक ५ सय रुपैयाँ ज्याला पाइन्छ ।

दुई दशकदेखि भारतमा ज्याला मजदुरी गरिरहेका बुढालाई त्यहाँको कमाइबाट घर खर्च चलाउन पनि निकै समस्या हुन्छ । ‘गाउँमै रोजगारी पाउने भए दुई/चार सयका लागि किन भारततिर जान्थें ?’ बुढाले भने, ‘तिहार खाएर फेरि गइहाल्नुपर्छ ।’

रोल्पाका शामलाल घर्ती पनि १७ वर्षदेखि सिमलामा स्याउ टिप्ने र बोक्ने काम गर्दै आएका छन् । ३२ वर्षको उमेरदेखि सिमला जान थालेका उनी अहिले ४९ वर्षका भए । अहिले पनि उनी पिठ्यँमा त्यही नाम्लो लगाएर स्याउ बोकिरहेका छन् । सिमलामा स्याउ बोक्ने नाम्लाले घर फर्किंदा झिटिगुन्टा बोकेर फर्किन्छन् ।

घर्ती पनि असार/साउनमा खेतीपातीको काम सकेर सिमला जान्छन् । दसैं/तिहारमा फर्किन्छन् । तिहार मनाएर फेरि जान्छन् र नयाँ वर्षमा घर फर्किन्छन् । उनको जीवनमा १७ वर्षदेखि यही क्रम चलिरहेको छ । उनको त आधा महिनाको ज्याला आउने, जाने भाडामै खर्च हुन्छ । रोल्पाबाट सिमला पुग्न ६ हजार भारु खर्च हुन्छ । दुई/तीन दिन समय पनि लाग्छ । सिमलाबाट सीमावर्ती बजार वनबासासम्मको भाडा ९ सय ८० भारु पर्छ । वनबासादेखि सीमा नाकासम्म ५० रुपैयाँ तोकिए पनि अहिले मनपरी भाडा असुल्ने काम भइरहेको छ । ‘मान्छेको दुई सय र सामानको सय गरी तीन सय लियो,’ घर्तीले भने, ‘बाढी भाडा लिएको भनेपछि उल्टै धम्काउन थाल्यो ।’ उनले बढी भाडा लिएकोबारे नेपाली क्षेत्रमा पुगेपछि पनि कहीँकतै केही जानकारी नगराएरै घरतर्फ हिँडे ।

साउन, भदौ र असोजसम्म स्याउ टिप्ने सिमलाका बगानमा नेपाली कामदारको घुइँचो लाग्ने गरेको घर्ती बताउँछन् । बगानका मालिकहरूले फोन गरेरसमेत कामदार बोलाउने गरेका छन् । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला स्याउ बगानका मालिकहरू कामदार लैजान सीमानाकासम्मै पुगेका थिए । अहिले पनि स्याउ टिप्ने बेला भएपछि उनीहरूले फोन गरेर बोलाउने गरेका छन् ।

‘सिमलामा पाउने काम भनेकै बर्खामा स्याउ टिप्ने र हिउँदमा घाँस काट्ने हो,’ घर्ती भन्छन्, ‘सिमाला आउन, जानमै जिन्दगी बित्न थाल्यो ।’ झन्डै दुई दशकदेखि भारतमा रोजगारी गरे पनि जीवनमा कुनै सुधार नआएको उनी बताउँछन् । अहिले पनि सिमलाको कमाइबाट घर खर्च चलाउनमात्रै भ्याइरहेको उनी बताउँछन् ।

केही दुःखबिराम भए ऋण काढेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । दसैं सुरु भएदेखि भारतका विभिन्न क्षेत्रबाट घर फर्किने नेपालीको संख्या निकै बढेको छ । नाकामा बिहानदेखि साँझसम्म लुगा/कपडादेखि भाँडाकुँडासम्म बोकेर नेपाल फर्किरहेका हुन्छन् । सिमलाबाट फर्किने कामदारहरूले अझ स्याउका पेटीसमेत बोकेका हुन्छन् ।

‘अब त बुढो भइयो, पहाडमा भारी बोक्न सकिँदैन,’ उत्तराखण्डको बागेश्वरमा मजदुरी गरेर घर फर्किन लागेका सुर्खेत विद्यापुरका जनक बुढाले भने, ‘अब घरमै बस्ने योजना छ ।’ ६२ वर्षीय बुढा पनि सानैदेखि कामको खोजीमा भारत पस्न थालेका हुन् ।

बागेश्वरमा घर निर्माणदेखि सडक निर्माण आदिमा ज्यालादारीको काम पाइन्छ । केही नभए मालसामान ढुवानीको काम पनि पाइन्छ । उक्त काम गरेबापत दैनिक ५ सय रुपैयाँ भारु ज्याला पाउने गरेको उनले बताए । साउनमा बागेश्वर पुगेका उनी दुई महिना मजदुरी गरेर घर फर्किन लागेका हुन् ।

भारतको उत्तराखण्ड र हिमाञ्चल नेपाली कामदारका मुख्य गन्तव्य हुन् । बाल्यकालदेखि बुढेसकालसम्म त्यहीं मुजदरी गर्नेहरू पनि धेरै छन् । जीवनभरि भारी बोकेर पनि उनीहरूको अवस्था जहाँको त्यहीं छ । अहिले पनि घर खर्च चलाउन बुढेसकालमा समेत काम खोज्दै उत्तराखण्ड र हिमाञ्चलका पहाड चहार्नुपर्ने अवस्था रहेको छ ।

‘जति काम गरे पनि महिनामा दस/बाह्र हजार भारु मात्रै हुन्छ,’ बुढाले भने, ‘खाने, बस्ने खर्च गरेर सात/आठ हजार मात्रै जोगाउन सकिन्छ, दुई/तीन महिनामा पन्ध्र/बीस हजार जोगाएर घर फर्किन्छौं ।’ उनका अनुसार घरमा नुनतेलदेखि केटाकेटीको खर्च त्यो भन्दा बढी हुने गरेको छ ।

अहिले गड्डाचौकी नाका भएर दैनिक दुई/तीन हजारको संख्यामा नेपाली घर फर्किरहेका छन् । दसैंको टीकाको दिनसम्म यो भीड चलिरहन्छ । दसैंमा घर फर्किन नपाएकाहरू तिहारमा फर्किन्छन् । तिहार सकिएलगत्तै फेरि काममा फर्किनेको भीड बढ्छ । कतिपय तिहारको टीका लगाएरै काममा फर्किन्छन् ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×