रेडियो कान्तिपुरमा चंगा चेट

तस्बिर : केशव थापा, सुरज कुँवर

काठमाडौँ — दसैं नजिकिँदै जाँदा निलो आकाशमा चंगा देखिनु घरैघरले भरिएको सहरमा अनौठो लाग्न थालिसक्यो । खुला स्थान नपाए पनि हरपलको साथी रेडियो कान्तिपुरले बार्दलीबाट चंगा उडाउने परम्परालाई दुई दशकदेखि निरन्तरता दिँदै आएको छ । यही मेसोमा शुक्रबार पुल्चोकस्थित रेडियो कान्तिपुर रहेको भवनको बार्दलीमा झन्डै तीन घण्टा कलाकारहरूबीच चंगा उडाउने कार्यक्रम चल्यो ।

यसै भीडमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन देखिए । थुप्रै कलाकारको सांगीतिक कार्यक्रम सुरु हुनुअघि उनी भन्दै थिए, ‘सानोमा दसैं आउँदा यही काठमाडौं खाल्डोमा चंगा खुबै उडाइन्थ्यो ।’ ललितपुरमै जन्मे-हुर्केका मेयर महर्जनले अझ सानो हुँदाको चंगास्मृति रेडियो पत्रकार पवन आचार्यसँग खुबै रोचक तरिकाले सुनाउँदै भने, ‘अहिले त चंगा नउडाएको २० वर्ष भइसक्यो होला । सानोमा हामी चंगा चेट हुँदा छोप्न खुबै लामो दौडिन्थ्यौं । चंगा नभेटिए धागो भेट्टाउँदा पनि खुबै आनन्द लाग्थ्यो ।’

मेयर महर्जनले यसो भनिरहँदा उनको हातमा रेडियो कान्तिपुरका कर्मचारीले कार्टुन अंकित चंगा र मन्जा धागो भएको लट्ठा थमाइदिए । अनि २० वर्षयता चंगा नउडाएका उनले रेडियो कान्तिपुरको भवनको तेस्रो तलामाथीको बार्दलीबाट आफ्नो महानगरको मुख्यालय भएको पूर्वी दिशातर्फ हौसिँदै चंगा उडाउन खोजे । तर, हावाको सुस्त गतिमा मेयर महर्जनले चंगा आकाशमै पुर्‍याउन कठिनाइ बेहोरे पनि रमाइलो मानिरहे ।

मेयरपछि कान्तिपुरको बार्दलीबाट कलाकार, आरजे, पत्रकार तथा अन्य अतिथिले दुई दर्जन हाराहारीमा चंगा उडाए । कलाकारहरू रेखा शाह, कमल खत्री, प्राशना शाक्य, निशा देशार, युवराज चौलागाईं, केबी राई, बाबु बोगटी, हिमाल सागर, आशीष सचिन र विश्व नेपालीले आ-आफ्ना सांगीतिक प्रस्तुतिहरू दिएका थिए । अढाई घण्टासम्म भएको कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्र र रेडियोका आरजे निशान कट्वालले सहभागीहरूलाई दसैंसबन्धी प्रहसनमा जोडिरहे ।


प्रकाशित : आश्विन १४, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्