म्यादी प्रहरीको अन्तर्वार्तालाई दिनभर लाम

लक्ष्मी गौतम

पाँचथर — मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथर जिल्लामा म्यादी प्रहरी बन्न आवेदन दिएका युवायुवतीले बिहीबार दिनभर लाम बसेर अन्तर्वार्ता दिएका छन् । म्यादी बन्नेको लाममा १८ देखि ४५ वर्ष उमेर समूहका युवायुवती र प्रौढहरु थिए । उनीहरुमध्ये धेरैजसोले बेरोजगारी समस्याले छोटो अवधिका लागि म्यादी प्रहरी बन्न खोजेको बताए ।

यसरी लाममा लाग्नेहरुमा एसईईदेखि स्नातकोत्तर तहसम्मका अध्ययन पूरा गरेका युवा युवतीको संख्या उल्लेख्य थियो । बिहान १० बजे सुरु गरिएको म्यादी प्रहरीका लागि अन्तर्वार्ता ५ बजेसम्म पनि जारी थियो । टन्टलापुर घाममा छाता ओढेर अन्तर्वार्ताका लागि लाम लागेका युवा युवतीको भीडले देशमा रहेका बेरोजगार जनशक्तिको बिम्ब प्रस्तुत गरेको छ । पाँचथरसहित देशैभर म्यादी प्रहरी छनौटका लागि बिहीबार अन्तर्वार्ता लिइएको प्रहरीले जनाएको छ ।जिल्लामा १ हजार १२ जना म्यादी प्रहरी आवश्यक रहेकोमा १ हजार ५ सय ५० जनाको दरखास्त संकलन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।

प्रकाशित : आश्विन १३, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्