फेरियो चन्दननाथमा ५२ हाते लिंगो [फोटोफिचर]
जुम्ला — कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो परिवर्तन गरिएको छ । प्रत्येक वर्ष घटस्थापनाको दिनमा यस मन्दिरमा पूजा गरेर लिंगो फेर्ने चलन छ । रातो, सेतो, रङ्गीविरङ्गी कपडाले लिंगो पुरै ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । एक वर्षमा ५२ हप्ता हुने भएकोले ५२ हाते लिंगो खडा गर्ने प्रचलन छ ।
देवताको जयघोष र पूजा आरती, भजनकिर्तनका साथ लिंगो फेर्ने चलन रहेको चन्दननाथ भैरवनाथ मन्दिरका गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतले जानकारी दिए । चन्दननाथ मन्दिरसँगैको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ । मन्दिरमा विजय स्तम्भसहित दुई वटा लिंगो ठड्याइने परम्पराअनुसार घटस्थापनाकै दिन खडा गरिदै आएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीहरु र सर्वसाधारणको सहभागितामा लिंगो ठड्याइन्छ । लिंगो ठड्याइसकेपछि मात्र जुम्लाबजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन छ ।
जुम्लावासीले लिंगो खडा गर्ने दिनमा नयाँ अन्न अर्थात् न्वागी खाने गर्छन् । मार्सीधान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ । मार्सी धान भित्र्याएर चन्दननाथलाई चढाएपछि घर परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने प्रचलन रहेको स्थानीय चित्रलाल श्रेष्ठको भनाइ छ ।वि.सं. ६७० सालमा चन्दननाथ बाबालाई मूर्ति चढाएको दिनलाई विशेष महत्वका साथ हेरिन्छ । चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बाँधिएका ध्वजा र नेजा लैजान्छन् । पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास छ । लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लिने गरिन्छ ।
विक्रम संवत् ६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य दुई हजार ९ पटक भएको देखिन्छ् । एउटा पल्टने लिंगो, (जो नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीहरुले ल्याउने) अर्को थपाले लिंगो (जो गाउँलेहरुले मात्र ल्याउने) र तेस्रो कमसले लिंगो जो सबै दलितहरु मिलेर ल्याइने गरिन्छ ।चन्दननाथ मन्दिर सिद्ध सादगी बस्ने ठाउँ हो । यहाँ लसुन, प्याज, कोदो,भट्ट, मसुरोको दाल प्रयोग गर्न पाइँदैन । बासी खानेकुरा खान हुँदैन । प्रत्येक बिहान ८ माना चामलको भोक लाग्छ । भोकको चामल पकाएर भात खानु पर्ने चलन छ । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी फुक्यो ल्याइन्थ्यो । अहिले सबै रोकिएको छ । मन्दिरमा अनिवार्य गाईपालन गर्नुपर्छ । यसअघि घोडी र गाईवस्तु पालिएका थिए । चन्दननाथ मन्दिरमा निष्ठाका साथ पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । जुम्ला राज्यको स्थापनासँगै १४४८ मा राजा बलिराजले चन्दननाथ मन्दिर निर्माण गरेका थिए । १८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरी चरणपादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।