कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिको असंवैधानिक कदमविरूद्ध विद्यार्थीको संयुक्त प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् । बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।

सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ । संविधानले राष्ट्रपतिलाई जस अपजसको राजनीतिबाट अलग राख्दै सरकार, संवैधानिक आयोग र संसद्ले सिफारिस गरेको काम गर्न स्पष्ट दिशानिर्देश गरेको छ । संसद्ले अनुमोदन गरेको विधेयक राष्ट्रपतिबाट पनि अस्वीकार हुन सक्छ भन्ने परिकल्पना नै संविधानले गरेको छैन ।


प्रकाशित : आश्विन ६, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

जब गुल्मीका भरतले दुबईमा ३५ करोडको चिठ्ठा जिते...

कान्तिपुर संवाददाता

काठमाडौँ — दुबईमा काम गर्दै आएका एक नेपाली युवकलाई १ करोड दिर्हाम(झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । गुल्मीका ३१ वर्षीय भरत विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।

यूएईको समाचार संस्था खालिज टाइम्सका अनुसार भरत दुबईमा कार धुने काम गर्दै आएका छन् । उनले चिठ्ठामा जितेको पैसाले घर परिवार राम्रोसँग व्यवस्थापन गर्ने बताएका छन् ।

२५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन दुबई पुगेका उनी ३ वर्षअघि दुबई पुगेका हुन् । उनका भाइ ब्रेन ट्युमरबाट पीडित छन् । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए ।

खालिज टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्, 'मेरो भाइको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । अपरेसनका क्रममा उनलाई प्यारालाइसिस भएको छ । उनको श्रवणशक्ति पनि गुमेको छ । यो पैसाले भाइको उपचार सहज हुने भएको छ ।' उनीसँग बैंकखाता नभएकाले लट्री कम्पनीले नै खोलिदिन लागेको छ ।

महजूजको अपरेटर इविंग्सका सीईओ फरिद साम्जी भन्छन्, 'हामीले उहाँको खाता खोल्न सघाएर पैसा ट्रान्सफर गर्दैछौँ ।' भरतले बाँकी पैसा आफ्ना ५ वर्षीय छोरा र ३ वर्षीया छोरीको सुखद भविष्य निर्माणमा खर्चिने बताएका छन् ।

सेप्टेम्बर २७ मा नेपाल फर्किने तयारीमा रहेका भरतले नियमित रूपमा महजूज लट्री किन्दै आएका थिए । पछिल्लो पटक 'घर जानुभन्दा अघि एउटा लट्री किनौँ न' भनेर किनेको पनि उनी बताउँछन् । 'रातिको १ बजेको थियो, घर जानुभन्दा अघि एक पटक चिठ्ठा खेल्नुपर्छ भन्ने लागेर किनेको थिएँ,' उनले भने ।

जीवनमै नयाँ मोड ल्याउने भरतले किनेको लट्री टिकटको नम्बर थियो १६, २७, ३१, ३७, ४२ । साढे २ वर्षदेखि नियमित रूपमा चिठ्ठा खेल्दै आएका उनले १६ र २७ नम्बर सधैँ छान्ने गर्थे, जुन उनका लागि विशेष पनि हो । उनी भन्छन्, '२७ गते म जन्मेको दिन हो भने १६ मैले विवाह गरेको दिन ।'

भरतले कार धुँदै गर्दा नै चिठ्ठा जितेको थाहा पाएका थिए । चिठ्ठा विजेता घोषणाको क्षण सम्झिँदै उनी भन्छन्, 'मेरा साथीहरू मसँगै थिए । प्रत्येक नम्बर मिल्दै थियो । उनीहरू पनि उत्साहित थिए । जब अन्तिम नम्बर मिल्यो उनीहरू खुसीले उफ्रिए । त्यो रात म निदाउनै सकिनँ । अर्को दिन कार धुँदै थिएँ, महजूजबाट एक जना महिलाले फोन गरिन् ।'

भरत अब पूर्वनिर्धारित समयमा भने घर नफर्किने भएका छन् । सबै प्रक्रिया पूरा भएपछि मात्र उनी घर फर्किने बताएका छन् । उनले परिवारलाई पनि अहिलेसम्म पूरा जानकारी नगराएको बताउँछन् । 'मैले परिवारलाई चिठ्ठामा कति जितेँ भनेर भनेको छैन । मैले परिवारलाई चिठ्ठा जितेँ मात्र भनेको छु । मैले घर गएर सबैलाई सरप्राइज दिने सोचेको छु ।'

भरत नेपालबाट महजूजको सबैभन्दा ठूलो रकमको चिठ्ठा जित्ने पहिलो व्यक्ति हुन् । दुबई आउनुभन्दा अघि उनी साउदी अरेबियामा काम गरेका थिए ।

यूएईको प्रतिष्ठित मानिने महजूजले अहिलेसम्म ९ अर्ब ८५ करोड रुपैयाँ विजेताहरूलाई दिइसकेको छ । महजजूबाट करोडपति बन्ने भरत २८औं व्यक्ति हुन् । महजूजको एउटा टिकटको मूल्य ३५ दिर्हाम (करिब १२ सय नेपाली रुपैयाँ) पर्छ ।

प्रकाशित : आश्विन ६, २०७९ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×