कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतविरुद्ध ऐतिहासिक जितपछिको खुसी

तस्बिर : केशव थापा, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैँटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले नर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन् । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन ।

समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।

नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ । यसअघिका सबै खेलमा भारतले फाइनलको यात्रा तय गरेको थियो । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बांग्लादेश फाइनल प्रवेश गरिसकेको छ । नेपालले सोमबार हुने फाइनलमा बांग्लादेशको सामना गर्नेछ ।


प्रकाशित : भाद्र ३१, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्