यसरी भासियो सिद्धार्थ राजमार्गको हिउँदेखोलामा सडक

शब्द/तस्बिर : माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोलानजिक झन्डै ५० मिटर सडक भासिएको छ । भासिएको सडकमा डाइभर्सन बनाएर सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

तीन साता अघिदेखि राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिएको छ ।यातायात पूर्ण रूपमा सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको सडक डिभिजन कार्यालयका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । उनका अनुसार भासिएको सडकमा डाइभर्सन गराउन केही समय लाग्नेछ । अपराह्न ४ बजेपछि यातायात सञ्चालन गर्न नसकिएको सडक डिभिजनले जनाएको छ ।

हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा छ । पछिल्लो समयमा अत्यधिक भार बोकेका सवारी साधन सञ्चालन हुनेगर्छ । यस क्षेत्रमा सात वर्षअघि पनि सडक भासिएको थियो । राजमार्गमा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिउँदे खोलामै रोकिएका छन् ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।


प्रकाशित : भाद्र १६, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्