३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भक्तपुरमा विश्वकप क्रिकेटको ट्रफी

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा प्रदर्शन गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको थियो।

ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा ११:३० बजेबाट प्रदर्शनीमा राखिएको हो। ट्रफी प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतका व्यक्ति उपस्थित थिए । त्यस्तै ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानले जानकारी दिएको छ ।

सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफीको प्रदर्शनी गरिने क्यानले जनाएको छ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ ।

विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ । विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ ।

विश्वकपको ट्रफी निशान कम्पनीले विश्वभर प्रदर्शन गरिरहेको हो । अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित : भाद्र १५, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्