जेब्रा क्रसमै जोखिम

तस्बिर : इलिट जोशी

काठमाडौँ — सवारीका ओहोरदोहोरले व्यस्त सडकहरुमा चोक, गल्ली वा स्थान विशेष तोकेर बनाइएका जेब्रा क्रस पैदल यात्रु मात्रै होइन, सवारी चालकका लागि पनि सुरक्षाको संकेत हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र संशोधन २०७५ को दफा १३२ मा सवारी कहाँ, कसरी रोक्ने भन्ने उल्लेख छ । उक्त दफाले भन्छ– जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ ।

नियम–कानुन थाहा छैन भन्न पाइँदैन । उल्लंघन गरे कारबाही हुन्छ । तर काठमाडौं उपत्यकाका सडकमा पैदल यात्री झसंग हुने ठाउँ जेब्रा क्रसिङ हो । बाटो काट्नेहरु देखिए भने सवारीसाधनहरुले गति कम गर्दै अलि परै रोकिनुपर्छ । तर त्यस्ता क्रसिङमा छेउछाउ ट्राफिक प्रहरी नदेखिए रोकेर बटुवालाई वारिपारि गर्न दिएको विरलै भेटिन्छ । सवारी चालक आफैंलाई धेरै हतारमा देखाउँछन् ।

जेब्रा क्रस भनेर हतपत बाटो नछाड्ने, आधाआधी क्रसिङ ढेपेर गाडी रोक्ने प्रवृत्ति छ । कतिपय सडक पार गर्न जेब्रा क्रसिङ पनि भेट्नै मुस्किल पर्छ । कतिका चिह्न पनि मेटिइसकेका छन् । कतिपय जेब्रा क्रसमै गाडी मोड्न नदिन डिभाइडर राखिएका छन् । ट्राफिक र संकेत बत्ती भएका ठाउँमा भने समस्या कम देखिन्छ ।

काठमाडौं ट्राफिकका अनुसार गत आर्थिक वर्ष उपत्यकामा ५८ जना पैदल यात्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ । कतिपय घटना बाटो काट्दा र जेब्रा क्रसमा पनि भएका छन् । धेरैजसो सवारी चालक दिनहुँ ५ सयको जरिवानामा पर्ने गरेका छन् । कारबाही चलिरहन्छ तर नियमको बर्खिलापका व्यवहार सडकमा सधैं देखिन्छन् । धेरै ठाउँमा प्रहरीकै आँखा अगाडि जेब्रा क्रसिङमा सवारी रोकेको देखिनु सहरी सभ्यतालाई गिज्याइरहेको देखिन्छ ।


प्रकाशित : भाद्र १३, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्