कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भांगे झरना हेर्नेको भीड

बलराम घिमिरे

रसुवा — जिल्लाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दुई वर्ष अघिसम्म भांगे झरनाको कतै चर्चा थिएन । सामाजिक सञ्जालमा भइरल भएपछि यस वर्षदेखि उक्त झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । तलबाट माथि हेर्दा फिल्म 'बाहुबली'मा देखाइने झरना जस्तै भएकाले भांगे झरनालाई 'बाहुबली झरना' पनि भनिन्छ ।

झरनाको सुन्दरता हेर्न दिनहुँ मानिसहरु आउने गर्दछन् । तर बिदाको दिन भने झरना हेर्नेको भिड थामिनसक्नु हुने गरेको स्थानीय पर्यटन व्यवसायी शशि लामिछानेले बताए । झरना हेर्न काठमाडौंदेखि आएका पुष्पनाथ आचार्यले भने, 'टिकटकमा भांगे झरना देखेपछि साथीहरुको ग्रुप बनाएर घुम्न आएका हौं ।' उनीहरु दुई दिनसम्म त्यहीं बसेर घुमे । झरना हेर्न छिमेकी जिल्ला नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ चितवन, गोर्खा, मकवानपुरलगायतबाट पनि आउँछन् । झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरु पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् ।

यो झरना बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा पर्दछ । झरना बेत्रावति बजारबाट करिब ५ किमिको दुरीमा उत्तरतर्फ पर्दछ । झरना हेर्नेको भीड बढ्न थालेपछि उत्तरगया गाउँपालिका–२ डाँडागाउँका साधुराम सापकोटाले होमस्टे संचालन गरेका छन् । उनले भने, 'बिदाको दिन त खाना पकाउन भ्याइनभ्याइ हुन्छ । गत वर्ष सामान्य मानिसहरु आए पनि यस वर्ष त भीड नै लाग्यो ।' भांगे झरनाको पर्यटन प्रवर्द्धन गर्न उत्तरगया गाउँपालिकाले पूर्वाधार विकास बजेट छुट्याएको उपाध्यक्ष चमेली गुरुङले बताइन् ।


प्रकाशित : भाद्र ५, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्