१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘न्याय नपाएसम्म गाउँ फर्किन्नँ’

अहिले प्रेमनारायणसँग ४ कठ्ठा घरबारी मात्रै बाँकी छ भने २२ कठ्ठा १० धुर बन्धकीमा छ । उनी भन्छन्, ‘बरु प्राण जाओस्, न्याय नपाएसम्म गाउँ फर्किन्नँ ।’
तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — पश्चिम नवलपरासीबाट आएका मिटरब्याजी पीडितहरू १९ दिनदेखि माइतीघरमा धर्नामा छन् । सुरुका दिनमा करिब २ सयको संख्या अहिले ६० मा झरेको छ । उक्त समूहमा सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् ७६ वर्षीय प्रेमनारायण कोइरी । पीडितहरू दिनभर माइतीघरमा धर्नामा बस्छन्, बेलुका कीर्तिपुर जान्छन् । ६० जनाको समूह कीर्तिपुरको एउटा अस्थायी टहरामा बस्दै आएको छ ।

प्रेमनारायण बिहानै ६ बजे उठ्छन् । एउटै मात्र शौचालय रहेकाले लाइन बस्नुपर्छ । त्यसपछि उनी नुहाएर पूजापाठमा व्यस्त हुन्छन् । ९ बजेदेखि साढे ९ बजेसम्म खाना खाएर उनी आन्दोलनमा जान तयार हुन्छन् । श्रीमतीसँगै कीर्तिपुरबाट बस चढ्छन् । उनीहरू त्रिपुरेश्वरमै ओर्लिन्छन् अनि नारा लगाउँदै धर्नास्थल माइतीघर आइपुग्छन् । दिनभर धर्ना बसेपछि उनीहरू बेलुका ५ बजेतिर पुनः कीर्तिपुर फर्कन्छन् ।

दुखजिलो गरी बनाउँदै गरेको घरलाई पैसा नपुगेपछि उनले साहुसँग २०७३ सालमा ९ लाख रुपैयाँ ऋण लिए । १२ कठ्ठा जग्गा बन्धकी राखेर उनले ऋण लिएका हुन् । अहिलेसम्म उनले १२ लाख तिरिसके । सुदखोरले भने अझै ४२ लाख रुपैयाँ मागिरहेका छन् । अर्का साहुसँग पनि उनले १० कठ्ठा १० धुर जग्गा बन्धकी राखेर १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उनले ६ लाख तिरिसके तर साहुले अझै १५ लाख मागिरहेका छन् ।

प्रेमनारायणलाई शरीर सुन्निने रोग लागेको २ वर्ष भयो । अहिले उनीसँग ४ कठ्ठा घरबारी मात्रै बाँकी छ भने २२ कठ्ठा १० धुर बन्धकीमा छ । पूर्वमन्त्रीसमेत रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी उनका छिमेकी हुन् । तर पनि त्रिपाठीले समस्या समाधानका लागि कुनै चासो नदेखाएको प्रेमनारायण बताउँछन् । उनी भन्छन्, ‘बरु प्राण जाओस्, न्याय नपाएसम्म गाउँ फर्किन्नँ ।’


प्रकाशित : भाद्र ४, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्