२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भक्तपुरमा आरती बालेर नगर परिक्रमा [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, संजोग मानन्धर

भक्तपुर — वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

कृष्ण जन्मअष्ठमी तथा गाईजात्राको अन्तिम दिन भक्तजनहरु वाकुपती नारायण आरतीमा सहभागी भएका छन् । आजको दिन सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरुभई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ । संकृतिप्रेमी ओम धौभडेलका अनुसार यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो । बालकदेखि युवासम्मले शिर, हात र काँधमा बत्ती बालेर नगरवासीलाई वाकुपती नारायणको आरती दर्शन गराइन्छ । आरती लगाउने बेला महिलाहरु सांकृतिक भेषभुषा हाकुपटासी लगाएर हातमा सुकुन्डा लिएर नगर परिक्रमा गर्छन् । भक्तपुरमा मानाइने बिस्केट जात्रा, गाईजात्रा जस्तै यो पर्व पनि नगरवासीको अभिन्न अंग बनेको धौभडेलको भनाइ छ ।


प्रकाशित : भाद्र ३, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्