कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाममा रोपाइँ जात्रा [तस्बिरहरु]

विप्लव भट्टराई

इलाम — कोभिड १९ का कारण दुई वर्ष रोकिएको परम्परागत रोपाइँ जात्रा बिहीबार इलाममा भव्यरुपमा मनाइएको छ । युवापुस्तामाँझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले रोपाइँ जात्रा निकालिएको हो । अघिअघि गोरु, हली र बाउसे अनि पछिपछि रोपारले धान रोपेझैं रोपाइँको झल्को दिने अभिनयले स्थानीयमात्र हैन टाढाबाट आएकालाई पनि मोहित बनाउने गरेको छ ।

इलाममा नेवार जातिको बसोबास सुरु भएदेखि नै थालिएको यो जात्रालाई पछिल्लो समयमा जिल्लाका सबै समुदायले पर्वको रुपमा मनाउने गरेका छन् । संस्कृति जगेर्ना गर्दै पर्यटक आकर्षणका लागि नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा जात्रा निकालिएको हो । जात्रामा रोपार, हली, बाउसेलगायत डेढ सय धेरै कलाकारले दिनभर अभिनय गरेका थिए । लोप भइसकेको बेठी लगाएर रोपाइँ गर्ने चलनको झल्को जात्रामा पाइन्छ । जात्राको अवसरमा परम्परागतरुपमा चलिआएको लिम्बु जातिको धान नाच पनि लामो समयपछि देखाइयो । बुधबार इलामको मंगलबारेमा पनि रोपाइँ जात्रा निकालिएको थियो ।

प्रकाशित : भाद्र २, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको चियामा अंकुश लगाउने भारतको तयारी

विप्लव भट्टराई

इलाम — नेपालबाट भारत निकासी हुने चियामा भारतीय पक्षले अंकुश लगाउने तयारी गरेको भन्दै सरोकारवाला सशंकित बनेका छन् । नेपालबाट जाने अरबौं रुपैयाँको चिया रोक्न भारत सरकार लागेको बताउँदै यसको समाधानका लागि राज्य पक्ष गम्भीर हुनु पर्ने उनीहरुको माग छ ।

नेपाली चिया गुणस्तरहीन रहेको आरोप लगाउँदै भारत सरकारले त्यसलाई नियन्त्रण गर्न कानुन नै बनाएर आयात रोक्ने तयारीमा लागेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् । यो समस्याको समाधान तत्काल नगरिए नेपाली चिया उद्योगमा गम्भीर असर पर्ने भन्दै चिया उद्यमीको एउटा टोली काठमाडौं पुगेको छ । सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोली काठमाडौं पुगेर उद्योग, कृषि, अर्थ मन्त्रालयलाई यसबारे जानकारी गराइसकेको छ ।

‘यो समस्याको समाधान जीटुजीबाट मात्र सम्भव छ,’ एसोसिएसनका अध्यक्ष उत्तम प्रधानले भने, ‘भारत सरकारले नेपाली चियासम्बन्धी कानुन पारित गरे यो क्षेत्र तहसनहस हुनेछ ।’ उनका अनुसार भारतको पार्लियामेन्ट्री स्टान्डिङ कमिटी अन कमर्सले १५ जुनमा भारतको लोकसभा र राज्य सभामा नेपाली चिया सम्बन्धी प्रतिवेदन नै पेस गरेको छ । जसमा नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको र सो चिया मिसाएर भारतले निर्यात गर्दा समग्रमा गुणस्तर नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । यही कारण देखाउँदै भारतले नेपालको चियालाई पूर्णरूपमा बन्देज लगाउने तयारी थालेको प्रधानले बताए । उनका अनुसार नेपालबाट जाने चियामा ४० देखि १०० प्रतिशतसम्म भन्सार दर लगाउनेसम्मको तयारी भारतीय पक्षको छ ।

इलामसहित पहाडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको मूख्य वजार भारत हो । यहाँ उत्पादित वार्षिक ६० लाख किलो तयारी चियामध्ये १० प्रतिशत पश्चिमा मुलुक, १० प्रतिशत आन्तरिक खपत र बाँकी भारत निर्यात हुने गरेको छ । यसअघि समेत विभिन्न वहाना बनाएर भारतले नेपाली चिया निर्यातमा अंकुश लगाउने गरेको व्यवसायीको आरोप छ । पछिल्लो समय पश्चिम बंगाल सरकार र केन्द्र सरकारमा नेपाली चियालाई अंकुश लगाउनेगरी मस्यौदा पेश गरिएको छ ।

शत प्रतिशत कर छुटका साथ नेपालबाट निर्यात हुँदै गएको चियालाई करको दायरामा ल्याउने र विभिन्न मापदण्ड पूरा गर्न लगाएर निरुत्साहित पार्ने गरिको कानुन निर्माणका लागि संसदमा एजेन्डा पेश भएको एसोसिएसनको भनाइ छ । चिया क्षेत्रका सरोकारवालाहरुले नेपाली चियामा भारतमुखी बजारको विकल्प खोज्नु पर्ने बताउँदै आएका छन् । समग्र चियाको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्रियाशील रहेको कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । ‘गुणस्तर सुधार गर्दै विश्व बजारमा नेपाली चिया पुऱ्याउन ट्रेडमार्क नै जारी गरेर पहल गरिरहेका छौं,’ उनले भने, ‘चियाको बोटदेखि ओठसम्मका सबै प्रकृयालाई सुधार गर्दै लाने क्रममा छौं ।’


प्रकाशित : श्रावण २३, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×