कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा मनाइयो गाईजात्रा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आज काठमाडौंमा गाईजात्रा पर्व मनाइएको छ । शुक्रबार भने भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गाईजात्रा मनाइएको थियो । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।

मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । काठमाडौंमा शनिबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले वसन्तपुरलगायत मुख्य सहरी क्षेत्र परिक्रमा गरेका छन् । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ ।


प्रकाशित : श्रावण २८, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : २ डीएसपीसहित ६ जना घाइते

हरि गौतम

रुकुम पूर्व — जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको गाडी दुर्घटनामा परेको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए ।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो । घाइतेमध्ये एक जना जवान गम्भीर घाइते रहेको र सबै घाइतेको उद्धारका लागि हेलिकोप्टर आइरहेको प्रजिअ सुनुवारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीसहितको टोली अर्को गाडीमा चढेका थिए । दुर्घटनाको कारण खुलेको छैन । भ्यान अन्दाजी १ सय मिटर तल खसेको छ ।

प्रकाशित : श्रावण २८, २०७९ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×