यस्तो छ मिटरब्याज पीडितको गाउँ

तस्बिर : मनोज पौडेल

पश्चिम नवलपरासी — नवलपरासीको रतनगन्जका ७७ जना अहिले माइतीघरमा छन् । मिटरब्याजी सुदखोरबाट पीडितहरू गाउँलेले कहिले न्याय पाउने हुन्, कहिले फर्किने हुन् ? स–साना बालबच्चा, वृद्धवृद्धालाई मेसो छैन । गरिखाने युवाको अभावमा रतनगन्जमा अहिले सन्नाटा छ ।

पश्चिम नवलपरासीको सुस्ता–५ रतनगन्जकी मान्सा कुर्मी । उनका श्रीमान् हृदयशले विदेश जान १ लाख ऋण लिएकामा २० लाख ३८ हजार तिर्दा पनि चुक्ता भएको छैन ।

कान्तिपुर टिम बिहीबार सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मीको घरमा पुग्दा कच्ची घरको भत्किएका भित्तो पुरानो सारीले छोपिएको थियो । ढोका होइन, बाँसका कप्टेराको बारजस्तो देखिन्थ्यो । श्रीमती मान्साको भान्सामा एक किलो जति चामल थियो ।उनको घरको अवस्था पहिले यस्तो थिएन । खेत थियो, उब्जनीले वर्षभरि खान पुग्थ्यो । तर अहिले उनीहरू भूमिहीन भएका छन् । ओत लाग्ने छाप्रो पनि कति बेला छोड्नुपर्ने हो, पत्तो छैन । दिन कसरी बिग्रिए ? मान्साले कथा सुनाइन् ।पति हृदयशले वैदेशिक रोजगारीका लागि कतार जान गाउँकै साहु सुनीलकुमार गुप्तासित आठ वर्षअघि एक लाख रुपैयाँ ऋण लिएका थिए । त्यसका निम्ति ११ कट्ठा जग्गा दृष्टिबन्धकमा राखे । कतारमा भनेजस्तो रोजगारी नपाएपछि उनी ८ महिनामै फर्किए । त्यतिबेलासम्म मिटरब्याजमा लिएको ऋणले आकाश छोइसकेको थियो । एक लाख लिएको हो भन्ने उनीहरूलाई थाहा छ, तर ब्याज कति भयो भन्ने थाहा छैन । मान्साका अनुसार उनीहरूले दृष्टिबन्धकमा राखेको जग्गा बेचेर तीन वर्षअघि २० लाख ३८ हजार रुपैयाँ बुझाए । तर पनि दुःख सकिएनन् । ‘त्यत्रो पैसा बुझाउँदा पनि ऋणमुक्त भएका छैनौं,’ मान्साले भनिन्, ‘अझै चार लाख मागिरहेका छन् ।’‘ऋण’ उठाउन भन्दै काममा जोताउने, दुर्व्यवहार गर्ने र छाप्रो पनि छोड्न भनेर धम्की दिने क्रम बढेपछि हृदयश न्याय खोज्न संघीय राजधानी काठमाडौं हिँडका हुन् । साहुबाट सताइएका उनीजस्ता धेरै छन् । सुस्तामात्र होइन, प्रतापपुर, बर्दघाट, रामग्राम र सरावलका पीडितहरू माइतीघरमा छन् ।

पश्चिम नवलपरासीको सुस्ता–५ रतनगन्जकी तैरुन निशा । छोरीको बिहेका लागि ०७२ फागुनमा श्रीमान् मुख्तार मियाँले सुदखोर सुनीलकुमारसँग दुई लाख ऋण लिएका थिए । साहुले ४ लाखको कागज बनाए । त्यसको ४ गुणा रकम तिर्दा पनि छुटकारा पाएका छैनन् । उल्टै २० लाख रुपैयाँ मागिएको छ ।

मिटरब्याजीविरुद्ध संगठित भएका गाउँलेहरू जेठमा पहिलोपटक काठमाडौं पुगेका थिए । १५ दिनसम्म माइतीघरमा धर्ना बसेपछि समस्या समाधान गरिदिने भन्दै गृह मन्त्रालयले कागजी सम्झौता गरेपछि उनीहरू गाउँ फर्किए । तर असार ९ गते ४५ वर्षीय साहुकार सुनील र ५० वर्षीय जगदीश गुप्तालाई प्रहरीले पक्राउ गर्‍यो । २० दिन थुनामा बसेपछि प्रशासनले उनीहरूलाई आवश्यक परेको समयमा हाजिर हुने गरी छाडिदियो । पीडितहरू फेरि निराश भए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पीडितहरूले अघिल्लोपटक काठमाडौंमा धर्ना दिएपछि प्रशासनले चासो दिएको र पीडित सम्पर्कमा आएको बताए । उनका अनुसार त्यसपछि २५ वटा निवेदन प्राप्त भएका थिए । मिटरब्याजी सुनील र जगदीशलाई नियन्त्रणमा लिएर २० दिन थुनामा राखिएको उनले बताए । ‘त्यसबीचमा प्रमाण संकलन गर्दा २० वटा निवेदनमा पीडित र मिटरब्याजीबीच पटकपटक वार्ता गराउँदा सहमति भयो,’ उनले भने, ‘२० जनाले केही बुझाउनु नपर्ने भएपछि मालपोतमा गएर लगत कट्टा गरियो ।’ पाँच वटा निवेदनमा सहमति बन्न नसकेको उनले बताए । तर, उनीहरूबाट सताइएका ७७ जना काठमाडौंमा छन् ।


प्रकाशित : श्रावण २७, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्