मूर्तिमै चार पुस्ता

सुजन गोपाली

काठमाडौँ — प्रथम विश्वयुद्धमा बेलायत विजयी भयो । तत्कालीन राणा सरकारले लडाइँमा सैनिक पठाएर सघाएकाले नेपाललाई ‘पोस्ट वार रिकन्स्ट्रक्सन फन्ड’ पठायो । उक्त फन्डबाट बन्यो काठमाडौंको महांकालको त्रिचन्द्र सैनिक अस्पताल । विसं १९८२ मा निर्मित यो सैनिक अस्पताललाई चिनाउने सेनाका सिपाहीको विशेष प्रकारको एउटा सालिक छ, जसलाई हेर्ने जोकोहीले यो फलानो अस्पताल भनेर खुट्याउन थालेको नौ दशकभन्दा बढी भइसक्यो ।

आजभन्दा ९७ वर्षअघि उक्त सालिक बनाएका हुन् रत्नबहादुर तुलाधरले । उक्त मूर्तिमा उनको कारिगरीबाट प्रभावित तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ५ सय रूपैयाँ इनाम दिएका थिए । साथै उपत्यकामा झ्याली बजाउन लगाई तुलाधरलाई मुलुककै सालिक बनाउने पहिलो कलाकार भनेर प्रचार गर्न लगाएका थिए ।

सैनिक मञ्च टुँडिखेल

त्यसबेला रत्नबहादुरको ख्याति बढेको थियो । निकै वाहवाही बटुलेका उनले काम गर्दै गए । सिंहदरबारभित्र सिंह, पशुपति क्षेत्रभित्र राजा महेन्द्र, प्रसूति गृहमा इन्द्रराज्यलक्ष्मी तथा पद्मोदय स्कुलमा पद्मशमशेरको सालिकहरु तुलाधरकै कलाकारिता हुन् । विसं १९६० मा सहिदगेटमा सहिदका सालिकहरु बनाउँदै थिए, त्यही दौरान उनको निधन भयो । तर काम रोकिएन, जिम्मेवारी लिएर छोरा बालकृष्णले पूरा गरे ।

मोरङमा रामप्रसाद राई

बालकृष्णले सानैदेखि बाबुको कारिगरी नजिकबाट नियाल्ने मात्रै होइन संगतले काम सिक्ने मौका पाएका हुन् । उनले आफ्नो बाबुकै कामलाई निरन्तता दिँदै अघि बढे । टुँडिखेलको सैनिक मञ्चका ६ सिपाहीका सालिक, शोभाभगवतीमा दशरथ चन्द, गंगालाल र गणेशमान सिंहको सालिक उनले बनाएका हुन् । काठमाडौं उपत्यकामा मात्र नभई विभिन्न जिल्लामा पनि आफ्नो कलाकारिता बढाउँदै गए । उनी ८६ वर्ष पुगे । अहिले उनलाई सघाउँदै छन् छोरा श्याम, बुहारी रिना र दुई नातिहरुले ।

मूर्ति तयार गर्दै रिना र छोरा रिजन

काठमाडौंको बाफलमा तेस्रो पुस्ताका श्याम मूर्ति बनाउनै व्यस्त छन् । काठमाडौंको माइतीघर मण्डलमा १० फिट अग्लो मान्छेको आकृतिसहित नेपालको नक्सा, किलागलमा १० फिट अग्लो तामापाताको हात्तीको टाउको, भूकम्पपछि निर्माणाधीन नयाँ धरहरामा २५ फिट अग्लो गजूर पनि उनकै कलाकारी हुन् । तुलाधर बाबुछोराले बनाएका महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य, बीपी कोइराला, रामप्रसाद राईलगायतका थुप्रै सालिक मुलुकका विभिन्न जिल्लामा छन् । बालकृष्ण र छोरा श्याम त मूर्ति बनाउँछन् नै, उनीहरुलाई पत्नी रिना र दुई छोराहरुले पनि सघाउँछन् । दुवै छोरा हाल सिर्जना कलेज अफ फाइन आर्ट कलेजमा ललितकला अध्ययन गरिरहेका छन् ।

सल्यानमा महाकवि लक्ष्मीप्रसाद देवकोटा

शोभाभगवतीमा गणेशमान सिंह

चुँदीरम्घामा आदिकवि भानुभक्त

ताहाचलमा छिन्नलता

चम्पादेवीमा पुष्पलाल श्रेष्ठको सालिक

सानेपामा मदन भण्डारी

शोभाभगवतीमा दशरथ चन्द र गंगालाल


प्रकाशित : श्रावण २५, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्