२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोसीको कटानपछि गोबरगाढावासी विस्थापित

अवधेश झा

सप्तरी — सप्तकोसी नदीको बहाब पछिल्लो केही दिनयता तीव्र रुपमा बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा बस्ती क्षेत्र पनि कटान गरेको छ । बस्ती कटान गर्न थालेपछि गोबरगाढावासी टापुमै नयाँ ठाउँमा टहरा निर्माण गरेर बस्न थालेका छन् । गोबरगाढामा अहिले एक सय परिवारका ३ सय जना बसोबास गर्दै आएका छन्।

चारैतर्फबाट कोसी नदीले घेरिएको गोबरगाढा टापुबाट अहिले आउजाउ गर्न समस्या छ । डुंगा रहे पनि नदीमा पानीको तीव्र बहाबका कारण गोबरगाढा जान आउन समस्या भएको हो । कोसीको बाढीले गोबरगाढाको पुरानो बस्तीसँगै २०२३ सालमा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ । विद्यालयसँगै रहेको स्वास्थ्य चौकी पनि जोखिममा परेको छ ।

आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा गरी ६० लाखको लागतमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत उक्त सामुदायिक भवन निर्माण भएको थियो । साविकमा एउटा गाउँ विकास समिति रहेको गोबरगाढा अहिले हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १३ हो । यो बस्ती मध्य कोसीमा अवस्थित छ । कोसीको मध्य भागमा रहेकाले गोबरगाढामा हरेक वर्ष वर्षातको समयमा समस्या पर्ने गरेको छ । चारैतिरबाट कोसीको भंगालोले घेरिएको गोबरगाढामा बसोबास गर्नेहरु अहिले कष्टकर जीवन बाँच्न बाध्य छन् ।

यसैबीच, पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएका छन् । नदी बेलका नगरपालिकाको डुम्रिबोटेतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन । बुधबार राति ८ बजेको मापनअनुसार ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए । उनका अनुसार जोखिम बढेपछि सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकामा कोसी तटबन्ध छेउछाउ नजान र तटीय क्षेत्रमा बसोबास गरिरहेकालाई सतर्क रहन आग्रह गरिएको छ । ती क्षेत्रका प्रहरी युनिटलाई परिचालन गरी सूचना लिने काम भइरहेको उनले बताए ।


प्रकाशित : श्रावण २०, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्