कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागपोखरीमा नागको पूजा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नागको पूजा गरिने पर्व नागपञ्चमी मंगलबार मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकाका नागपोखरीहरुमा भक्तजनहरुले नागको पूजा गरेर यो पर्व मनाएका छन् । पोखरीमा बिहानैदेखि भक्तजनहरूको भिड लागेको थियो ।

नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह,भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ । यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ ।

नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमी किन र कसरी मनाउन सुरु भयो भन्नेबारे विभिन्न किंवदन्ती प्रचलित छन् ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।


प्रकाशित : श्रावण १७, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

गण्डक ब्यारेजका सबै ढोका खोलियो

नारायण शर्मा

नवलपरासी पूर्व — लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी खतराको तहनजिक पुगेको छ । पानीको तह खतराको सतहनजिक पुगेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका सोमबार रातिबाट खोलिएको छ । 

देवघाटस्थित जलमापन केन्द्रका अनुसार मंगलबार बिहान सवा ११ बजे नारायणगढस्थित नारायणी पुलमाथि पानीको सतह १० दशमलव ५२ मिटरमाथि पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर माथि पुग्दा वार्निङ लेभल ( खतराको तह ) भन्ने बुझिन्छ ।

नारायणीमा पानीको सतह बढदै गएपछि आसपासका बस्तीमा जोखिम बढ्छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नदीमा पानीको सतह बढ्दो देखिएका कारण आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको बताए ।

नारायणी कटानको जोखिममा रहेका गैंडाकोटदेखि त्रिवेणी धामसम्मको क्षेत्र सतर्कता अपनाउन स्थानीय तहलाई सूचित गरिएको उनले जानकारी दिए । मंगलबार बिहानबाट त्रिवेणीस्थित गण्डक ब्यारेमा पानीको सतह एक्कासि बढेका कारण त्यहाँका सबै ढोका खोलिएको छ ।

त्रिवेणी प्रहरी चौकीका अनुसार गण्डकका सबै ३६ ढोका सोमबार बिहान खोलिएको छ । त्रिवेणीस्थित गण्डकमा (नारायणी नदी)मा बांध बनाएर भारतले उत्तर प्रदेश र बिहारमा सिंचाइका लागि पानी लगेको छ । नहरको ढोका खोलिएपछि त्यहाँका दुवै नहरमा पानी जाँदैन । मंगलबार बिहान सवा ११ बजे त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ८३ हजार क्युसेक रहेको छ ।

सबै ढोका नखोलिए त्रिवेणीधाम डुबाउने र बगाउने जोखिम हुन्छ । नेपाल भारत सिमानामा बनाइएको बाँध ( गण्डक ब्यारेज) को ढोका खोल्ने बन्द गर्ने अधिकार भारतसँग मात्र छ । नेपालतर्फको भूभागमा बाढीको जोखिम बढेको जानकारी दिएपछि उनीहरूले ढोको खोल्दिने चलन छ । दुई दिनदेखिको झरीका कारण नारायणीमा पानीको सतह बढेको हो ।

प्रकाशित : श्रावण १७, २०७९ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×