कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

यात्राको सहज विकल्प बन्दै जनकपुरको रेल

तस्बिर : इलिट जोशी

जनकपुर — लामो प्रतीक्षापछि जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरलगायत धनुषाका सीमार्वती गाउँका स्थानीय बासिन्दालाई केही सहज भएको छ । आठ वर्षअघिसम्म चलेको न्यारोगेजलाई ब्रोडगेज रेल्वेले विस्थापन गरी सेवा सुरु गरिएकामा सीमापारि जयनगरका व्यवसायी पनि खुसी छन् । यो नेपालको एकमात्र रेल्वे लाइन पनि हो ।

भारतीय विद्युतीय रेल सञ्जालकै छेउबाट अहिले नेपालको डिजेल इन्जिनयुक्त रेल छुट्छ । आधुनिक र सुविधायुक्त रेलमा प्रतिस्पर्धा भइरहेका बेला पुरानो मोडलको खर्चिलो डिजेल इन्जिनयुक्त रेल नै जयनगर–कुर्थामा चल्न थालेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले गत चैत तेस्रो साता उक्त रेल सेवाको भर्चुअल उद्घाटन गरेका थिए । रेलमा कुल पाँचवटा डिब्बा छन्। तीमध्ये एक वातानुकूलित छ जसमा ५८ जनासम्म यात्रु अटाउँछन्। अन्य चारवटा सामान्य डिब्बाको कुल यात्रु क्षमता भने १ हजार ३ सय हो ।

नेपाल रेल्वेका अनुसार हरेक दिन बिहान पहिलो रेल जयनगरबाट कुर्था ८:३० बजे आउँछ । उक्त रेल कुर्थाबाट १०:३० बजे जयनगर फर्किन्छ । दोस्रोपटक रेल दिउँसो ३ बजे जयनगरबाट कुर्थाका लागि आउँछ र ५:३० बजे फर्कन्छ । ३५ किलोमिटर दूरीमा कुर्था, बैदेही, खजुरी, इनर्वा र जयनगर गरी ५ स्टेसन तथा जनकपुर, परवाहा र महिनाथपुरमा हल्ट राखिएको छ । हल्टमा यात्रु चढ्ने र ओर्लिने छन् भने स्टेसनमा मालसामान लोड/अनलोड हुन्छन् ।


प्रकाशित : असार २८, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्