कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पहिले यता हेर महानगर

दीपक केसी, संजोग मानन्धर, सुजन गोपाली

काठमाडौँ — काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्नेलाई निषेधको नीति लिएको छ । त्यही नीति कार्यान्वयन गर्न नगर प्रहरीको एउटा टुकडीले फुटपाथमा व्यापार गर्नेलाई हटाउँछ । यस क्रममा शुक्रबार बालुवाटारमा सडकछेउमा मकै पोलेर बेचिरहेका एक दम्पतीको ठेलागाडा नियन्त्रणमा लियो । र, उनीहरुमाथि सामान्य मानवीय व्यवहारसमेत गरिएन ।

आवागमनमा बाधा पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन । उपत्यकामा दैनिक गुजारा टार्न सडकछेउमा व्यापार गर्नेहरु थुप्रै छन् र उनीहरुका व्यापार पनि थुप्रै थरीका छन् । सडक छेकेर गर्न नहुनेमा यस्ता व्यापार पनि पर्छन् । नियन्त्रण र नियमन जरूरी हुँदाहुँदै पनि महानगरले तत्काल हेर्नैपर्ने क्षेत्र छुटेका छन् । सहरलाई कुरुप र अव्यवस्थित बनाइरहेका फोहोरमैला, अव्यवस्थित फुटपाथ, सडकछेउका पोलमा गुजुल्टिएका तार व्यवस्थापनमा ध्यान जानुपर्छ ।

काठमाडौं उपत्यकाका फुटपाथमा जताततै निर्माण सामग्री थुपारिएको छ । कतै ढल थुनेर छोडिएको छ । कतिपय सडकछेउ हिँड्दाहिँड्दै फुटपाथ हराउँछ । भित्री सडकहरुमा त अझ फुटपाथ भेट्नै मुस्किल पर्छ । जथाभाबी पार्किङले गर्दा पैदलयात्री जोखिम मोलेर सडकबाट हिँड्न बाध्य छन् । केहीबेर ठूलो पानी पर्‍यो भने प्रमुख चोकहरु नै जलमग्न हुन्छन् ।

छिमेकी ललितपुर महानगरको कामकारबाही काठमाडौंको भन्दा फरक छैन । ललितपुरले हैजाको जोखिम बढेको भन्दै ठेलागाडा र रिक्सामा पानीपुरी, स्ट्रिट फुड, तरकारी तथा फलफूल बेच्न निषेध गर्‍यो । तर, हैजाको मुख्य जोखिमका रुपमा रहेको सार्वजनिक स्थानमा थुप्रिएको फोहोर, ढल, दुर्गन्धित पोखरी सरसफाइ गर्नतर्फ ध्यान दिएको देखिँदैन ।

ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेल क्षेत्रमा सडकमै ढल बग्ने गर्छ । फोहोर थुप्रिने समस्या पनि हटेन । खानेपानीको स्रोतदेखि प्रयोगसम्म सतर्कता आवश्यक छ । ढल खुला छाडिनु हुँदैन ।


प्रकाशित : असार १९, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्