बाल मन्दिर परिसरका ३५ रुख काटिए [तस्बिरहरू]

शब्द : अब्दुल्लाह मियाँ, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नक्सालस्थित बाल मन्दिर परिसरमा रहेका सल्लाका बुढा–पुराना रुख हटाइएको छ । हावाहुरीका बेला रुख ढलेर मान्छे घाइते हुने, ढलेर नजिकका घरलगायतका संरचनामा क्षति हुने सम्भावना बढेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रुख हटाउने अनुमतिका लागि डिभिजन वन कार्यालय, काठमाडौंसँग गत वर्ष नै आग्रह गरेको थियो ।

‘प्रतिष्ठानको बोर्डले निर्णय गरेर रुख कटान गरी हटाउने अनुमतिका लागि हामीसँग आग्रह गरेको थियो’, डिभिजनल वन अधिकृत बद्रीबहादुर कार्कीले भने, ‘हामीले स्थलगत अध्ययन गरेर कटान सिफारिस दिएका हौं ।’ ‘सरकारी रुखहरु हटाउने सम्बन्धी मापदण्ड, २०७१’ को ५ मा जग्गाधनी प्रमाणपूर्जा भएका सरकारी कार्यालय, संस्थान, समिति कार्यालयह हाताभित्रका रुख हटाउनुपर्ने भएमा सम्बन्धित कार्यालयको विभागीय निर्णयका आधारमा डिभिजनल वन अधिकृत संयोजक रहेको जाँजुबझ समितिले सिफारिस गरेमा हटाउन स्वीकृति दिन सक्ने व्यवस्था छ ।

प्रतिष्ठानले परिसरका ४९ वटा रुख कटान माग गरेको थियो । तर, वन कार्यालयले ३५ वटा मात्र रुख कटान अनुमति दिएको थियो । ‘रुखको प्रकृति हेर्दा पुराना, धोद्रा र जतिबेला पनि ढल्न सक्ने भएकाले कटान अनुमति दिएका हौं’, कार्कीले कान्तिपुरसित भने ।

वन कार्यालयले गत पुस ५ गते ती रुख हटाउन दिइने निर्णय गरेको थियो । ३५ मध्ये ३२ वटा खोटे सल्लाका रुख हुन् भने बाँकी कपुरका हुन् । परिसरमा रहेका बाँकी रुख भने कम उमेरका र साना छन्, तिनले तत्काल कुनै हानी गर्ने नदेखिएको कार्कीले बताए । डिभिजनल वन अधिकृत कार्कीले नक्सालबाहेक उपत्यकाभित्र अन्य स्थानमा पनि बुढा–पुराना रुख हटाउनुपर्ने देखिएको तर धेरैले ध्यानै नदिएको बताए । ‘अन्य स्थानमा पनि बुढा रुख ढलेर क्षति गर्ने सम्भावना छ’, कार्कीले सुनाए, ‘केही महिनाअघि सिंहदरबारभित्रै रुख ढलेर घाइते भएको हामीले विर्सन हुँदैन ।’ त्यस्ता बुढा रुखबारे अध्ययन गरेर सम्वन्धित निकायले हटाउन चासो दिनुपर्ने उनले बताए ।


प्रकाशित : असार १५, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्