कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिम मोलेर विद्यालय

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयका राम लामा साथीको हात समातेर सोमबार मुस्किलले खारखोला तरे । विद्यालय छुट्टी भएपछि घर फर्कन माथिल्लो कक्षाका विद्यार्थी एकले अर्कोको साथ लिए । साना कक्षाका विद्यार्थीलाई शिक्षकले बोकेर पार गराए ।

‘दुई दिन भयो, खोला तरेर विद्यालय आउन जान थालेको, खोला सानो भएको बेला असजिलो हुँदैन, ठूलो पानी परे विद्यालय पुग्नै मुस्किल,’ धर्मोदयका विद्यार्थी जंग तामाङले भने । सोमबार धर्मोदयका विद्यार्थी खारखोलाको भेल तरेर विद्यालयबाट घर फर्किए ।

पानी परेर खोला बढेको दिन भने विद्यार्थी विद्यालय जान सक्दैनन् । शनिबार रातिको अविरल वर्षा पछिको बाढीले विद्यालय पुग्ने पुलको पहुँचमार्ग बगाएपछि विद्यार्थी खोलामा हेलिएर विद्यालय आउजाउ थालेका हुन् । खोला बढेपछि पारिका विद्यार्थी विद्यालय आउन नसक्ने धर्मोदयका शिक्षक नानीबाबु अधिकारीले बताए । अधिकारीका अनुसार खोला बढेपछि आइतबार १२० जना विद्यार्थी अनुपस्थित रहे । सोमबार पनि सबै विद्यार्थी विद्यालय आउन सकेनन् ।

धर्मोदयका विद्यार्थीलाई पैदल हिँड्न सजिलोका लागि चार वर्ष अघि पुल निर्माण भएको थियो । उक्त पुलको पहुँचमार्ग बगाएपछि विद्यार्थी जीर्ण काठको फड्केबाट पनि आउजाउ गर्दै आएका छन् । चार वर्ष सम्म प्रयोगविहीन वनेको काठे पुल(फड्के)बाट आउजाउ गर्न पनि डरमर्दो रहेको विर्दीकी अनुपा कुमालले बताइन् । ‘काठ सबै मक्किएको छ, बार पनि गतिलो छैन, पानी परेको बेला त चिप्लन्छ कि भन्ने डर छ,’ उनले भनिन् । फड्के जीर्ण बनेर जोखिम बढेपछि खोलाबाटै विद्यार्थीलाई वारपार गराउने गरेको धर्मोदय माविका प्रध्यानाध्यापक कृष्ण न्यौपाने बताउँछन् ।

प्रकाशित : असार १४, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली सरकारको बजेटमा सुदूरपश्चिमका योजना

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को वार्षिक विकास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका जिल्लाका लागि बजेट छुट्याएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको रातो किताबमा सुदूरपश्चिमका दार्चुला, बझाङ र बैतडीका लागि बजेट छुट्याएको पाइएको हो ।

फाइल तस्बिरः कर्णाली प्रदेशसभा भवन ।

कर्णाली सरकारले नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रमअन्तर्गत तटबन्ध तथा बाँध निर्माणका लागि सशर्त अनुदानबाट खर्च गर्ने गरी यी जिल्लाहरूमा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्लाका नौ स्थानीय तहका नौ आयोजनामा कूल एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयमार्फत कार्यान्वयन हुने गरी बझाङको दुर्गाथली गाउँपालिका–२ मोरीबगरमा सेती नदी नियन्त्रणका लागि भन्दै १५ लाख बजेट छुट्याइएको छ । बझाङकै जयपृथ्वी नगरपालिका–९ स्थित एयरपोर्ट तल्लोबगरको सेती नदी नियन्त्रण कार्यका लागि पनि १५ लाख बजेट विनियोजन गरिएको रातो किताबमा उल्लेख छ ।

दार्चुलाको महाकाली नगरपालिका–५ मा रिठाखोला नमस्कार तटबन्ध कार्यका लागि १५ लाख, मालिकाअर्जुन गाउँपालिका–८ को मेलखेत भर्तौला खोला तटबन्ध कार्यका लागि २० लाख र सो गाउँपालिकाकै वडा नं. ३ को सनीखोला तटबन्धका लागि १५ लाख बजेट छुट्याइएको हो । यस्तै, दार्चुलाकै शैल्यशिखर नगरपालिका–९ को परिगाउँ बस्ती संरक्षणका लागि दश लाख बजेट छुट्याइएको छ ।

रातो किताब अनुसार कर्णाली सरकारले बैतडीका पनि तीन वटा आयोजनामा सशर्त अनुदानअन्तर्गत बजेट खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । जसअन्तर्गत बैतडीको पाटन नगरपालिका–२ मा पल्लिगाड गनेघट्ट टुँडीखेत खोला नदी नियन्त्रणका लागि १५ लाख, दोगडाकेदार गाउँपालिका–६ स्थित पन्जयनया सन्सेत तटबन्धका लागि पनि १५ लाख र डिलासैनी गाउँपालिका– ४ मा खलासी जमाडी नुवाकोट तटबन्ध कार्यका लागि भन्दै १० लाख रकम विनियोजन गरेको रातो किताबमा उल्लेख छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले संघीय सरकारले नै वित्तीय हस्तातरण गर्दा यस्तो गल्ती गरेको बताए । उनले अब प्रदेश सरकारले केही गर्न नसक्ने उल्लेख गरे । ‘सरकारले गल्तीले गर्दा सुदूरपश्चिमका योजनाहरू कर्णालीमा परे,’ उनले भने, ‘अब हामीले संशोधन गर्न पनि सक्दैनौं, सरकारले जुन शीर्षकमा जे जति बजेट समावेश गरेर पठाएको छ हामीले त्यही अनुसार नै कार्यान्वयन गर्ने हो ।’

उनका अनुसार अब सरकारसँग दुई विकल्प रहन्छ । सरकारले बजेटमा समेटिएका सुदूरपश्चिमका आयोजना संघमा नै फिर्ता पठाउने अथवा रकमान्तर गरेर कर्णालीका अन्य शीर्षकमा गर्न सक्छ । नेकपा एमाले कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारले ठूलो लापर्वाही गरेको टिप्पणी गरे । उनले प्रदेश सरकारले प्रतिपक्षीको कुरा नै सुन्न नचाहेको गुनासो गरे । प्रमुख सचेतक शाहले सरकारले गरेका गल्ती नसच्याएसम्म संसद अघि बढ्न नसक्ने बताए ।


प्रकाशित : असार १४, २०७९ १४:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×