कान्तिपुर हिसान शैक्षिक मेलाको दोस्रो दिन उत्साहजनक [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको दोस्रो दिन विद्यार्थी, अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा शनिबार ५० हजार जनाले अवलोकन गरेका छन् । मेलामा ७४ वटा शिक्षण संस्थाको स्टल रहेका छन् । शनिबार दिनभर विद्यार्थी अभिभावकको भीड लागेको थियो ।

एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको मेलाका संयोजक युवराज शर्माले जानकारी दिए । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको समुद्घाटन गरेका थिए । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिइएको ‘कान्तिपुर हिसान एडुफेयर’ ४ दिन अर्थात् असार १३ गते सोमबारसम्म सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्तरुपमा मेलाको आयोजना गरेका हुन् ।

मेलामा अवलोकनमा आउनेहरूलाई लक्षित गरेर हरेक दिन विभिन्न खाले प्रतियोगिता हुनेछ । मेलाको आकर्षणका रुपमा आइतबार कविता प्रतियोगिता हुँदैछ । शनिबार हुने भनेको प्रतियोगिता पानी परेको र भीडभाड पनि धेरै भएका कारण आइतबारलाई तय गरिएको शर्माले जानकारी दिए । आइतबार पेन्टिङ प्रतियोगिता र १३ गते सोमबार खेर गएका सामग्रीबाट नयाँ सामग्री उत्पादन गर्ने प्रतियोगिता हुनेछ । कक्षा ९–१२ का विद्यार्थीहरुबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । साथै उनीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यवस्था हिसानले गर्ने जनाइएको छ । हरेक दिन मेला बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

नेपालमै सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य तथ्य र यथार्थ जानकारी गराउन एडुफेयर आयोजना गरिएको हो ।


प्रकाशित : असार ११, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्