एडुफेयरको चहलपहल

तस्बिर : केशव थापा, तस्बिर : अंगद ढकाल

काठमाडौँ — शैक्षिक क्षेत्रका विविध विषय केन्द्रित ‘कान्तिपुर हिसान एडुफेयर’ शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको उद्घाटन गरेका हुन् ।

एसईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हिसानले जनाएको छ । आयोजकका अनुसार विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइनेछ ।

यो बृहत् शैक्षिक मेलामा ७५ भन्दा बढी शिक्षण संस्थाका स्टल रहेका छन् । विद्यार्थी अभिभावकले ती स्टलबाट शिक्षण संस्थाबारे जानकारी लिन सक्ने संयोजक युवराज शर्माले जानकारी दिए । ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन मेला आयोजना गरिएको हो,’ शर्माले भने, ‘विद्यार्थी र अभिभावकले निःशुल्क रूपमा मेलामा प्रवेश गरी शिक्षण संस्था, विषय, पठनपाठन विधिलगायत विविध विषयमा जानकारी लिन सक्नेछन् ।’ मेलाले विद्यार्थीलाई कहाँ पढ्ने, के पढ्नेलगायत विषयमा निर्णय गर्न मद्दत गर्ने उनको भनाइ छ ।

एडुफेयरको यो सातौं संस्करणमा दुई लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको अनुमान छ । मेलामा विद्यालय तहदेखि विभिन्न विश्वविद्यालयका सम्बन्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा दिने शिक्षण संस्थाका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । एक हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मेलामा कला प्रतिस्पर्धा, कविता वाचन, निबन्ध लेखन, प्रविधि प्रदर्शनलगायत हरेक दिन विभिन्न कार्यक्रम पनि हुनेछन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ आयोजित मेला असार १३ गतेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित : असार १०, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगरसभा स्थगित

सुवास विडारी

हेटौंडा — गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको हो ।

बिहान १० बजेका लागि बोलाइएको ११औं अधिवेशनमा एमालेबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भए पनि हस्ताक्षर नगरेपछि शुक्रबार नगरसभाको बैठक स्थगित गरिएको हो । नगरसभा आइतबार बिहान १० बजेका लागि पुन: बोलाइएको छ ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाको बैठक बोलाइएको थियो । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै नेकपा (एस)बाट निर्वाचित मेयर मीना लामालाई असहयोग गरिरहेको छ ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको थियो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १४:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×