कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छावालाई लछारपछार

पर्वत पोर्तेल

बाहुनडाँगी, झापा — आइतबार राति करिब सयको संख्यामा हात्तीको हञ्‍जा मेची तरेर बाहुनडाँगी पसेको थियो । रातभरि गाउँमा रैफाडो मच्चाएर बिहानै हात्तीको त्यो हुल फर्कियो । तर, एउटा छावा हुलबाट छुट्यो ।

चिया बगानमा अलमलिरहेको अवस्थामा फेला पारेपछि छावालाई गाउँले घेराबन्दीमा पारेर डोरीले बाँधे अनि भुइँमा लडाए । त्यो बेला छावा बाँधेर लडाएको दृश्य हेर्नेको भीड थामिनसक्नु थियो । ‘करिब एक घन्टा बाँधेर राखेपछि मर्ला कि भन्ने डर भएर छाडिदियौं’, स्थानीय हस्त प्रधानले भने,‘डेढ,दुई घन्टा लगाएर हात्तीलाई मेची तारेर भारततिरै पठायौँ ।’

मेची तार्ने बेलामा स्थानीयले छावालाई लछारपछार गरे । निकै लामो समयको लछारपछारपछि छावालाई मेची तारियो । ‘मेचीमा बाढी आएकाले छावा तार्न समस्या भयो’, स्थानीय सुमन कार्कीले सुनाए ।

पूर्वोत्तर झापाको यो सीमावर्ती गाउँमा वर्षौंदेखि हात्ती र मानवबीच घम्साघम्सी भइरहन्छ । हात्ती आतंक नियन्त्रणको ठोस कदम कहीँकतैबाट नभएको भन्दै पीडित किसान दु:खित छन् ।


प्रकाशित : असार ६, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै अन्तिम चारमा प्रवेश गरेको हो।

वर्षाको कारण ढिला सुरु भएको खेललाई ७ओभरमा छोट्याइएको थियो ।

किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयाो । बहराइनकी ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि कविता कुँवर र सवनम राईले २/२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्।

१५ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ३ दशमलव ४ ओभरमा पूरा गर्‍यो। सीता रानामगरले ४ र कविता जोशीले ३ रन जोडिन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।


यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।


प्रकाशित : असार ६, २०७९ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×