तातोपानी नाका : चीनतर्फ धमाधम काम, नेपालमा सुनसान [तस्बिरहरू]


सिन्धुपाल्चोक — चिनियाँ कम्पनी ‘ताइन सुन रोड एण्ड ब्रीज कम्पनी’ ले बनाएको चिटिक्क परेको मितेरी पुल । पुल पारि चिनियाँ कम्पनीका अत्याधुनिक उपकरणसहित कामदारहरू भवन, सडक बेस लगायत अनेक पूर्वाधार निर्माणमा तल्लिन देखिन्छन् । यता नेपालतर्फ पहिरो छेउमा सुस्ताइरहेको तातोपानी क्षेत्र खण्डहर नै छ । भूकम्पको चार वर्षपछि मालवाहक रुपमा बल्ल खुलेको तातोपानी नाकामा सडक, बन्दरगाहदेखि मितेरी पुल चीनका दुई कम्पनीले बनाइदिए ।



चाइना रेलवे कन्ट्रक्सन ब्युरो (सीआरसीसी) ले लिपिङ बसेरी खण्डको ‘स्टेभलाइस सब बेस’ र रोकिएको तातोपानी सुक्खा बन्दरगाह, पुल बनाइदियो । तर, ती संरचनाबाहेक नेपालतर्फ कुनै ठूलो संरचनाको काम भएको देखिँदैन । बाहिर मात्रै सामान्य रंगरोगन गरेर चल्तीमा ल्याइएको अध्यागमन कार्यालय, सशस्त्र, प्रहरीजस्ता महत्त्वपूर्ण कार्यालय जीर्ण भवनमा चलाइएका छन् । ‘पहिरो हटाउनुबाहेक अरु केही काम नेपालबाट भएको छैन । सरकारले तातोपानीलाई पूरै बेवास्ता गरेको छ । हामीले मात्रै के चाही गर्न सक्छौं र ?,’ भोटेकोसी गाउँपालिका ३ का अध्यक्ष निमासोना शेर्पाले प्रश्न गरे ।

खस्नै लागेको लिपिङ चट्टानमुनि ध्वस्त अरनिको गेटमा नेपालको राष्ट्रिय झण्डा फहराइरहेको हेर्दै जीर्ण भवनमा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मी बस्छन् । यतिसम्म कि नाका खुल्दा भव्य चलहलपहलसँगै अर्बौं राजश्व उठाउने सरकारले मालवाहक सवारीलाई सुरक्षित पार्किङ र व्यवस्थापन पनि दिन सकेको छैन । तर चीनतर्फ भने धमाधम काम भइरहेको छ । न्यालम खण्डको (४० किमी )सडकको काम सकाइसकेको चीनले आहिले प्रशासनिक व्यापारिक भवनदेखि तटबन्ध , सडकजस्ता पूर्वाधारको कामलाई विशेष प्राथामिकता दिएको छ । चिनियाँ अधिकारीका अनुसार यस क्रममा दर्जनौं अत्याधुनिक उपकरण प्रयोग गरेर पहिरो र बाढी नियन्त्रक आइरन वाल प्रविधि प्रयोग गरिएको छ । नेपालतर्फ भने भूकम्पका क्रममा भत्किएका संरचना निर्माण गरिएको छैन ।







