१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विमानस्थलमा उद्धार अभ्यास

तस्बिर : दीपक केसी

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार दिउँसो आधा घण्टा उडान सेवा बन्द गरेर हवाई दुर्घटना उद्धार अभ्यास गरेको छ । विमानस्थलका उपनिर्देशक छविराज खनालका अनुसार बुधबार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकेर विमानस्थलको उत्तरपूर्वी भागमा अभ्यास गरिएको थियो ।

अभ्यासका लागि विमानस्थलले चालक दलका सदस्यसहित १ सय ३० जना सवार रहेको विमान काठमाडौं धावनमार्गमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्नेबारे सरोकारवाला निकायहरू प्रहरी, सेना, दमकल, अस्पताल, चिकित्सक, एम्बुलेन्स, विमानस्थलका कर्मचारी, एयरट्राफिक कन्ट्रोलर, वायुसेवा कम्पनीसहित करिब २ सय जनालाई संलग्न गराएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्देश गरेको नियमका आधारमा हरेक अन्तर्राष्ट्रिय विमानस्थलले हरेक दुई वर्षमा ‘फुल स्केल इमरजेन्सी एक्सरसाइज’ गर्नुपर्ने हुन्छ । ‘यस्तो अभ्यासले विमानस्थलमा अन्तरनिकाय समन्वय कसरी गर्ने, उपकरणहरूको बेला-बेला जाँच गर्नुपर्ने हुन्छ । यदि कुनै दुर्घटना भइहालेमा कमभन्दा कम धनजनको क्षति गराउन उद्धार अभ्यास सिकाइ हुने हुन्छ,’ अभ्यास सकिएपछि प्राधिकरणका अध्यक्ष तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले संचारकर्मीसँग भने, ‘यो बाध्यकारी अन्तर्राष्ट्रिय नियम हो । आईकाओको अडिट पास हुन पनि यो अनिवार्य गर्नु पर्छ नै ।’

विमानस्थलमा भएको अभ्यासका क्रममा काठमाडौंमा रहेका दमकल, एम्बुलेन्स विमानस्थलमा पुगेका थिए भने दुई जना ‘घाइते’ लाई हेलिक‍प्टरले लङलाइन (डोरी) बाट उद्धार गरेको थियो ।

प्रकाशित : असार १, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्